सोसल मिडिया
युनिकोड
मेयर र उपमेयरको विवादका कारण धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको ४ महिना बित्न लाग्दा समेत नगरसभा हुन सकेको छैन । छुट्टा-छुट्टै पार्टीका मेयर र उपमेयर भएपछि उनीहरुले बजेट चलाउने विषयमा विवाद हुँदा अहिले नगरपालिका नै बन्धक बनेको छ ।
नगरसभा हुन नसक्दा नगराईनमा विकास निर्माणका कामकाजदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुलेसमेत चालु आवमा तलब पाएका छैनन् । चाडपर्वको समयमा समेत उनीहरु तलब भत्तालगायतका सेवा सुविधाबाट बञ्चित हुँदा कार्तिक ८ गतेदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा गरिसक्नुपर्ने प्रावधान छ तर प्रत्येक वर्ष यस नगरपालिकामा मेयर र उपमेयरबीचको विवादका कारण समयमा नगरसभा हुने गरेको छैन । लामो समयदेखि नगरपालिकाको नगरसभा नहुँदा सेवा प्रवाहमा मात्रै असर परेको छैन, कर्मचारीहरुसमेत आन्दोलित भएका छन् ।
नगराईमा मेयर नेपाली कांग्रेसका छन् भने उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेका छन् ।
नगराईनका मेयर विनयकुमार यादवले पालिकामा प्रमुख र उपप्रमुखबीच चर्किएको विवादका कारण नगरसभा अनिश्चित बनेको स्वीकार गरे । उनले पालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई तिहाइ बहुमत रहेकाले यस आडमा आफुसँग बार्गेनिङ गरिरहेको भन्दै भने, ‘यो सब मलाई असफल बनाउने दाउ हो, उपमेयरको यही हतकन्डाका कारण नगरसभा हुन नसकेको हो ।’
मेयर यादवले पालिकामा विकास भए त्यसको सबै श्रेय मेयरले पाउने उपमेयर पक्षको भ्रम रहेको बताए ।
‘२०७९।८० मा जुन आन्दोलन भएको थियो ८ महिनाको त्यसमा हामीले जुन सम्झौता गरेको थिए त्यस सम्झौता अनुसार हामीले दुई वर्ष नगरपालिका चलायौँ अनि त्यो सम्झौता अनुसार पाँच वर्ष चल्नुपर्ने थियो बितमा के भयो ? किन त्यो सम्झौता भंग भयो ?’, उनले अगाडि भने, ‘हामी पालीकाको जुन नयाँ नयाँ कानून छ त्यसैबाट जितेर आएका छौँ, त्यो कानूनबाटै हामीले चल्नुपर्ने हो ।’ ‘असार १० गते नगरसभा गर्नेमा एमाले, कांग्रेस, लोसपा नेपाल लगायतका सबै दल सहमत थिए, हामी नगर सभाका लागि समयमै पुगेका थियौँ । नगरसभा गर्ने उनीहरु सहमति त गर्नुभयो, तर बिना कारण उपस्थित नै हुनुभएन ।’ त्यो बेलादेखि यो सिलसिला अहिलेसम्म जारी रहेको मेयर यादवको भनाई छ ।
यता, उपमेयर पक्षले भने नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण नगराईनमा नगरसभा हुन नसकेको आरोप लगाए । वडा नं. ८ का वडाध्यक्ष सञ्जय कुमार राउतले नेपाली कांग्रेसबाट निर्वाचित मेयरसहित वडाध्यक्षहरु तानासाही प्रवृतिको रहेको भन्दै तानासाही नछाडेसम्म नगराइनमा केही नहुने बताए । उनले भने, ‘हामी भन्छौँ मेयर साहेबलाई आफ्नो गल्ती स्वीकार गर्नुस् । प्रमुख तपाई हुनुहुन्छ, नगराइन नगरपालिका बन्द छ यसको जिम्मा तपाईँले लिनुपर्छ ।’
राउतले २०७९ को चुनाव पश्चात् कानूनकै विषयलाई लिएर नगरपालिका ९ महिना बन्द भएको र अहिलेपनि सोही कारणले बन्द भएको बताए । उनले ९ महिनाको बन्दपछि सर्वदलीय बैठकबाट कार्यविधि संशोधन गर्ने सम्झौता भएको तर अहिलेसम्म त्यो कार्यान्वयन नभएको बताए । उनले भने, ‘सर्वदलीय बैठक पश्चात् केही बुँदामा सहमति भएको र सोही सहमति अनुसार नगरपालिका खुलेकोमा त्यो सर्त लागु हुनुपर्छ’, उनले अगाडि भने, ‘मेयर साहेब भन्नुहुन्छ दुई वर्ष कसरी चल्यो ? यो दुई वर्ष एमालेले इमानदार भएर सहयोग गरेर चलाई दिएको बुझ्नुपर्छ । तपाईहरुले एमालेलाई ठग्नुभएको छ अब एमाले ठगाउनेबाला छैन ।’
वडाध्यक्ष राउतले मेयरले आफ्नो बजेट आफै चलाउने र उपमेयरले आफ्नो बजेट आफै चलाउने सहमति भएकोमा त्यसको लागि कार्यविधि संशोधन नभएको उनले बताए ।
उनले स्थानीय तहमा भएको कमीकमजोरीलाई सुधार गरी लगे नगरपालिका चलाए खुशीका साथ नगरपालिका चल्न दिने बताए । नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालबाट १ जना जनप्रतिनिधि छन् । मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित छन् भने नेकपा एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छन् ।