सोसल मिडिया
युनिकोड
विशेष अदालतले दुई कर्मचारीलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। न्यायाधीशहरु तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो।
सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कैलालीमा कार्यरत लक्ष्मण शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उनले जागिरका लागि पेस गरेको उच्च माध्यमिक तहको प्रमाणपत्र नक्कली रहेको दाबी अख्तियारले गरेको थियो।
शाहविरुद्ध गत २९ जेठमा मुद्दा दायर भएकोमा कसुर कायमको फैसला भएको हो। कम्प्युटर अपरेटर पदमा निजामती सेवा प्रवेश गरी बढुवा भई पछिल्लोपटक शाखा अधिकृत (सातौँ तह)मा कार्यरत थिए। उनलाई विशेषले ९ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ।
यसैगरी, सोही इजलासले पोखरा महानगरपालिका वडा नं ३२ स्थित सहरी स्वास्थ्य केन्द्रमा करारमा कार्यरत कर्मचारी शोभा उप्रेतीलाई पनि दोषी ठहर गरेको छ। उनी त्यहाँ अहेव पदमा कार्यरत थिइन्।
उनले काठमाडौंकै एक विद्यालयबाट एसएलसी पास गरेको प्रमाणपत्र बुझाएकोमा सम्बन्धित निकायबाट त्यसको पुष्टि हुन नसकेको ठहर विशेषले गरेको हो। उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ।