पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइमा गरिने सम्मानका लागि क्याबिनेट, आजै अन्त्येष्टि

सोमबार, मंसिर ३, २०८१

पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम बिदाइमा गरिने सम्मानको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। त्यसका लागि सोमबार बिहान नौ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

ढुंगानाको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ। 

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली पनि सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्। ढुंगानाको अन्त्येष्टि आजै दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्