सोसल मिडिया
युनिकोड
सोमबार साँझ प्रधानमन्त्री केपी ओली संग भेटेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल तीब्र पारेका छन्।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई घरमै बोलाएर आज छलफल गरेका छन्। देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान सभापति र महामन्त्रीद्वयबीच छलफल भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम, सरकार, उपनिर्वाचन तयारीलगायत विषयमा सभापति देउवा र महामन्त्रीद्वयबीच कुराकानी भएको हो।
सभापति देउवा केही समयदेखि गृहजिल्ला डडेल्धुरामा थिए। उनी करिब एक साता डडेल्धुराका गाउँ-गाउँको भ्रमण गरेर काठमाडौं फर्केका हुन्।
सभापति देउवाले काठमाडौं आएपछि सोमबार प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओली र सभापति देउवाबीच केही मन्त्रीहरू हेरफेर गर्ने विषयमा कुराकानी भएको दाबीसहित चर्चा पनि भइरहेका छन्। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचन तयारीलगायत विषयमा कुराकानी भएको हो।
३३ जिल्लाका ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समिति प्रमुख भने कांग्रेस उम्मेदवार निर्विरोध भइसकेका छन्।
कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा समिति बनाएको छ। उपनिर्वाचन हुने ठाउँमा तयारी के-कसरी अघि बढाउनेलगायत विषयमा सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल भएको हो।