ओली जन्मिएकै जिल्लामा ओली पराजित, श्रेष्ठलाई हराएर ढुंगानाले मारे बाजी

शुक्रबार, मंसिर ७, २०८१

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुमको पार्टी अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन्।

उनले ओली निकट उम्मेदवार गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै जिल्ला कमिटी अध्यक्ष बन्न सफल भएका हुन्। संस्थापन पक्षधर श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा ढुङ्गानाले २ सय ३६ मत प्राप्त गरेका थिए।

त्यस्तै श्रेष्ठ प्यानलका तारामान मादेन सचिवमा निर्वाचित भए। उनले २ सय २८ मत सहित जित निकाल्दा ढुंङ्गाना प्यानलका छत्र रिमालले २ सय २ मत प्राप्त गरेका थिए।

उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ २ सय २० मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलबाट लडेका अर्जुन ढुङ्गानाले २ सय ८ मत प्राप्त गरेका थिए।

महिला उपसचिवमा श्रेष्ठ प्यानलबाट तारा ढकाल १ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने सन्तोष तिगेला निर्विरोध निर्वाचित भएका थिए।

दुई दिनदेखि जारी जिल्ला अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरेको भए पनि अध्यक्षका प्रत्यासीहरु गोविन्दराज श्रेष्ठ र शिवप्रसाद ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन भएको हो।

गोविन्दराज श्रेष्ठलाई केन्द्रको साथ थियो भने वर्तमान अध्यक्ष तेजमान कन्दङ्गवालगायतको साथ रहँदा ढुंगानालाई लक्ष्मण तिवारी लगायतको साथ रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्