नेपालकै जहाजमा घर फर्किईन् जापानकी विदेशमन्त्री

आइतबार, वैशाख २३, २०८१

नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरी जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फर्किएकी छन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता गरेकी थिईन् ।

उक्त भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ । उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरिन्।

साथै जमलस्थित मण्डला बुक प्वाइन्ट गएर केही नेपाली पुस्तक खरिद समेत गरिन्  । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरे । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उनी नेपाल वायुसेवा निगमको जहाजमा जापान फर्किएकी हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्