सोसल मिडिया
युनिकोड
नेकपा एमालेले आज शुक्रबार गरेको शक्ति प्रदर्शनका कारण काठमाडौँका मुख्य सडक अधिकांश यातायात जाममा फसेका छन्।
मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आमनागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै आयोजना गरेका यो शक्ति प्रदर्शनले यातायात सञ्चालनमा समेत असहजता ल्याएको हो।
घण्टौँसम्म ठाउँठाउँमा जामका कारण सवारी रोकेर बस्नु पर्दा समयमै कार्यालय पुग्नको लागि सकस भएको यात्रुको गुनासो छ। कार्यालय समयमा यातायातको चाप बढी हुने गर्छ। जागरण सभाका नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता-कार्यकर्ता परिचालन गर्दै प्रदर्शन गर्ने योजना बनाएको हो।
उपत्यका ट्राफिक कार्यालयले पनि आज सडकमा धेरै जाम हुन सक्ने विषयको दृष्टिगत गर्दै वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ। एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ। सरकारमा हुँदा पनि सडकमा आमसभा गर्नु लोकतन्त्रमा सही भएको एमालेको दाबी छ।
नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले चार महिनामा पनि देखिने गरी काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ। सरकारले गरेका राम्रा कामको प्रचार गर्न जागरणसभा गर्न थालेको एमाले प्रवक्ता राजेन्द्र गौतम बताउँछन्।
आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेभन्दा दिउँसो बढी जाम हुने ट्राफिक प्रहरीले जनाएको छ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।
एमाले कार्यक्रमको सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। लेखक केशव दाहालले फेसबुकमा पोस्ट गरेका छन्, ‘प्रधानमन्त्रीले आमसभा गरेर र बाटो छेकेर अराजकताको अन्त्य हुन्छ? अराजकता स्वयं एमालेको नर्सरीमा हुर्केको गन्धे झार हो। सरकारमा बसेर चाहिएको काम गर्नु छैन, बेकारको तमासा।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले एमालेको प्रदर्शनलाई वाहियात भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाहियातको सीमा हुन्छ! के दश हाम्रो पुस्ताको मात्र बिर्ता हो? भाबी पुस्ताका बारेमा सोच्न पर्दैन?’
पत्रकार अखिलेख उपाध्यायले सत्तारुढ दल र त्यो पनि प्रधानमन्त्रीको पार्टी किन आफ्नो शक्ति प्रदर्शनमा? भनेर प्रश्न गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘यस प्रकारको निर्णय कुशासनको प्रोत्साहन र राजनीतिक घबराहटको प्रदर्शन दुवै हो।’