फिरन्ते भएर मात्र चीन नजाने भन्दै प्रधानमन्त्री ओलीले सुनाए अनेक कुरा

शुक्रबार, मंसिर ७, २०८१

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण उपलब्धिपूर्ण हुने बताएका छन् ।

नेकपा एमाले काठमाण्डु, ललितपुर र भक्तपुर गरी ३ वटा जिल्ला कमिटीले शुक्रबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चीन भ्रमणको उपलब्धि देशवासीले थाहा पाउने खालको हुने बताए ।

‘चीनको भ्रमण अत्यन्तै सफल भ्रमण रहनेछ, तपाईंहरूले यसै पनि थाहा पाउनुहुनेछ, म तपाईंहरूलाई चीनबाट फर्किएपछि कसरी सफल भयो भन्ने कुरा सम्प्रेषण गर्नेछु, त्यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन,’ ओलीले भने ।

देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिने बताउँदै उनले त्यसकै लागि चीन भ्रमण गर्न लागेको स्पष्ट पारे । चीन भ्रमणलाई सफल र उदाहरणीय बनाउने ओलीले दाबी गरे । ‘म ढुक्कले यो कुरा तपाईंहरूलाई भन्नु चाहन्छु,’ उनले भने ।

एमालेमाथि लगाइएका कुनै पनि आरोपहरू खण्डन र चर्चा गर्नलायक नभएका ओलीले बताए । त्यस्ता आरोप लगाउनेहरू आफैं आरोप लगाउने र आफैं सुनेर दङ्ग पर्ने मात्र उनले बताए । ‘भ्रममा पर्दैन जनता, कसले कति कमाएको छ, कसले कति कमाएको छैन, यी कुरा सबै विश्वले देखेको छ, दुनियाँले देखेको छ,’ उनले भने ।

कम्बोडियाको टेलिकममा क–कसको लगानी छ भन्ने कुरा थाहा पाउन कुनै गाह्रो नरहेको बताउँदै ओलीले यस्ता कुरामा समेत दुष्प्रचार गरिएको बताए । ‘आफू गल्ती गर्ने, अरूको टाउकोमा खन्याउने,’ उनले भने ।

यस्ता कुप्रचार गर्ने र भ्रम फैलाउनेलाई सामाजिक सुप्रबन्ध कायम गर्न नियन्त्रण गर्नुपर्नेमा र सरकारले त्यो काम गर्ने ओलीले बताए । अब नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्न ओलीले चेतावनी दिए । एमाले हात्तीको बथान जस्तो पार्टी भएकोले नाङ्लो ठटार नतर्सने ओलीले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्