प्रधानमन्त्री ओलीले कांग्रेसलाई नसन्काउने, चौरासी सालसम्मै सत्ता तन्काउने

शुक्रबार, मंसिर ७, २०८१

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काग्रेससँगको सत्ता समिकरण आउँदो निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्।

दुई दल सम्मेलित आफू नेतृत्वको सरकार ढल्छ भनेर पटक पटक भाखा राखे पनि गठबन्धनले २०८४ सालको चुनावसम्म निरन्तरता पाउने जिकिर गरेका हुन्।

शुक्रबार काठमाडौँमा पार्टीले आयोजना गरेको सभामा ओलीले अबको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने दोहोर्याए।

ओलीले भने, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कटदैन, त्यो पनि कटयो । मंसिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दैछन् फेबु्रअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउछु।’

आलीले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। ओलीले भने, ‘कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस्।’

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने दाबी गरे।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्