बालेन शाह एमालेविरुद्ध परिचालित भएको शंकरको आरोप

शनिबार, मंसिर ८, २०८१

नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । उक्त जरिवानाको प्रतिक्रिया दिँदै एमाले महासचिव पोख्रेलले यस्तो आरोप लगाएका हुन् ।

आयोजकले सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पत्र पठाउनुले मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनको भनाइ छ ।

महासचिव पोखरेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर वालेन नेकपा(एमाले)विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’

महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले बताएका छन् । महासचिव पोख्रेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्