सोसल मिडिया
युनिकोड
बागमती प्रदेशमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले सबै सरकारी कार्यालयमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ। प्रदेश सरकारका सचिवले पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताए। तर बागमती प्रदेश सरकारले बिदा दिए पनि काठमाडौँ उपत्यकाका संघीय सरकारमातहतका कार्यालयमा भने बिदा नहुने भएको छ।
काठमाडौँ उपत्यकाका ३ जिल्लामा सोमबार बिदा छैन
बागमती प्रदेश सरकारले बिदा घोषणा गर्दा अन्योल सिर्जना भएपछि कतिपय कार्यालयले सूचना नै निकालेर कार्यालय खुल्ने जानकारी गराएका छन्। काठमाडौँ जिल्ला अदालतले सूचना नै जारी गरी सोमबार बिदा नरहेको स्पष्ट पारेको छ।
उसले यो सूचना जारी गर्दा नेपाल सरकार गृह मन्त्रालयबाट ०८० माघ २९ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको दफा १२ (क) लाई उद्धृत गर्दै बागमती प्रदेश सरकारले घोषणा गरेको बिदा अदालतको हकमा आकर्षित नहुने उल्लेख गरेको छ।