सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै सेवा निवृत्त भएर अर्को जिम्मेवारीमा जान लागेकी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेका छन्। चीन भ्रमणमा हुने कतिपय विषयलाई गोप्य राख्न प्रधानमन्त्री ओलीले सचिव लम्सालको सरुवा गरेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। प्रधानमन्त्री ओलीले आफू अनुकूलका व्यक्ति अमृतबहादुर राईलाई कायममुकायम परराष्ट्र सचिव तोकेका छन्। ओली मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।
लम्साल युरोपेली महासंघ (ईयू) का लागि राजदूतमा सिफारिस भइसकेकी छन्। ईयूमा राजदूत नियुक्ति गर्दा अग्रिमा आवश्यक पर्दैन। ईयूका लागि नेपाली राजदूत हुन तयारी अवस्थामा रहेकी लम्साललाई राजदूतमा नियुक्त नगरी प्रधानमन्त्री कार्यालयमा तानिनुले कूटनीतिक क्षेत्रमा गलत सन्देश गएको छ।
लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि प्रधानमन्त्रीलाई साथ दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। कुनै बेला परराष्ट्र मन्त्रालयमा ज्ञानचन्द्र आचार्य सचिव रहँदा डा. मदनकुमार भट्टराईलाई सचिवमा बढुवा गरिएको थियो। एकै मन्त्रालयमा दुई सचिव हुने भएपछि डा. भट्टराईलाई प्रधानमन्त्री कार्यालय सारिएको थियो। कूटनीतिमा यस्तो गर्न नहुने भन्दै उनलाई मन्त्रालयमा पदस्थापना गरिएको थियो।
त्यतिबेला पनि एमाले नेतृत्वको सरकार थियो। माधवकुमार नेपाल प्रधानमन्त्री थिए। कांग्रेसबाट सुजाता कोइराला परराष्ट्रमन्त्री थिइन्। एमाले नेतृत्वको सरकारले आफूलाई विश्वास लागेका व्यक्ति ल्याउन यस्तो अभ्यास गर्दै आएको छ। प्रणालीलाई भन्दा पनि आफ्नो नजिक वा संगठनको सदस्यता लिएका कर्मचारीलाई मात्र विश्वास गर्ने राजनीतिक प्रथाले यो अवस्था निम्त्याएको हो।
अहिले पनि परराष्ट्र सचिवलाई प्रधानमन्त्री कार्यालय सारेर कामु परराष्ट्र सचिवलाई चीन लैजाने प्रपञ्च प्रधानमन्त्री कार्यालयले रचेको हो। पटकपटक भएका बैठक र छलफलमा सचिव लम्साल नै सहभागी थिइन् तर एकाएक उनी प्रधानमन्त्री कार्यालय सरेपछि उनले सबै ब्रिफिङ आफ्ना जुनियरलाई दिनुपरेको छ।
सरकारले महिला पहिलोपटक परराष्ट्र सचिव बनेको भनेर अनेक कुरा गरे पनि राजदूतका रूपमा जान लागेकी महिलाको अपमान भएको भन्दै परराष्ट्रका अधिकारीहरूले असन्तुष्टि जनाएका छन्। यस्तो कदमले कूटनीतिमा ठेस लागेको उनीहरूको भनाइ छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव लम्साललाई प्रधानमन्त्री कार्यालयमा सार्ने निर्णय गरेको थियो। लम्साललाई भारतसँग निकट रहेको आरोप लगाउँदै राजनीतितक नेतृत्व उनलाई सरुवा गर्ने निर्णयमा पुगेको एक अधिकारीले जानकारी दिए।
परराष्ट्रका केही व्यक्ति यस प्रकारको खेलमा सामेल भएर लम्साललाई प्रधानमन्त्री कार्यालय सारिएको ती अधिकारीको दाबी छ। राजनीतिक नेतृत्वसँग नजिक भएकाले कुरा लगाउने चलन छ। यो सत्य नभए पनि क्षणिक फाइदाका लागि गर्ने गरिएको अधिकारीहरू बताउँछन्। उनलाई ब्रसेल्सका लागि राजदूत नियुक्तिको घोषणा गर्न पनि मिल्ने थियो। त्यो बाटोबाट सीधा बाहिर ल्याएको भए स्वतः अर्का सिनियर व्यक्ति कामु सचिव हुने थिए।
असक्षम देखाउन यो प्रक्रिया गरिएको हुन सक्ने अर्का एक अधिकारीले बताए। लम्सालले पहिलो महिला परराष्ट्र सचिवको इतिहास लेखाइसकेकी छन्। सरुवा गरे पनि वा राजदूत नियुक्त नगरे पनि उनी एक कार्यकाल राजदूत भएर परराष्ट्र सचिव भइसकेकी हुन्।
प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकाबाट फर्काएर सीधै न्युयोर्कको स्थायी प्रतिनिधि बनाइएका राईलाई कायममुकायम सचिव बनाएका छन्। उनै राईको सल्लाहमा मन्त्रालयमा सुब्बाबाट प्रवेश गरेका कुनै परीक्षा नदिईकन सीधै सहसचिवसम्म पुग्ने प्रथा बनाइएको छ।
दरबन्दी थपेर मन्त्रालयमा कर्मचारी बस्नसमेत ठाउँ नभएको कर्मचारीहरूको गुनासो छ। अर्को भवनमा बाँडिएर बस्नुपर्दा मन्त्रालय भद्रगोल रहेको उनीहरू बताउँछन्। त्यस्ता समस्या समाधानतर्फ सरकारको ध्यान नगएको कर्मचारीको आरोप छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने काम भइरहेको छ। भ्रमणमा आफ्नो मानिस लैजाने सोचले गर्दा राईलाई कायममुकायम परराष्ट्र सचिव बनाइरहँदा परराष्ट्रमन्त्रीले एक महिलालाई यसरी किन निकालिएको भनेर प्रश्नसमेत सोध्न सकिनन्। मन्त्रालयका ती अधिकारीले भने, ‘महिला परराष्ट्रमन्त्री रहेकी आरजुले कसरी महिला हितको कुरा गर्ने? सुजाताले चलाउँदा र यिनले चलाउँदा के फरक हुने देखियो त परराष्ट्रमा?’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई प्रभावकारी बनाउन राईलाई परराष्ट्रको कायममुकाय सचिव बनाइएको हो। प्रधानमन्त्री ओली सेवासँग असन्तुष्ट रहेको र उनलाई भारतसँग नजिक भएको आरोप लगाइएको छ।