सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिने म्याद शुक्रबार नै सकिएकाले प्रहरीले आज फेरि उनलाई कास्की जिल्ला अदालत उपस्थित गराएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
लामिछानेसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पु¥याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको आरोप छ । रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ ।