रवि लामिछानेलाई हिमलालले र दुर्गा प्रसाईलाई कमलाले लगाईदिए काँजो

आइतबार, मंसिर ९, २०८१

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थप्न अदालत लग्दा इजलासमा धरौटीमा छाड्न आग्रह गरेका छन् ।

आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलालमा भएको सुनुवाईमा रविले नभाग्ने सतै राख्दै छाड्न आग्रह गरेका हुन् । उनले भनेका थिए, ‘श्रीमान् म कतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस्’ ।

रविको आग्रहपछि न्यायाधीश बेलबासेले अरू जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको बताउँदै फेरि पक्राउ पर्ने बताए । यसैले छाडे पनि कुनै अर्थ नहुने बताए ।

सरकारी वकिल कार्यालय कास्कीले पनि सोही भन्दै बहस गरेका थिए । वकिलले भनेका थिए, ‘कास्की अदालतले छाडे पनि चितवन र काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । फेरि उता पक्राउ परिहाल्नुहुन्छ ।’

त्यसपछि रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पूर्व गृहमन्त्री लामिछानेमाथि आज पाँचौँ पटक म्याद थपिएको हो ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको रविले दाबी गर्दै आएका छन् । तर, रविले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।

उनको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले बताएको छ ।

यता,साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् । केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । उनी मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए ।

यसअघि असोज ६ मा पनि साइबर अपराध मुद्दामा पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्