प्रधानमन्त्री ओलीको चीन भ्रमणको बन्दोबस्ती आरजुले मिलाउने, उड्ने चाँही कहिले ?

सोमबार, मंसिर १०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलॆलो चीन भ्रमणको बन्दोबस्ती मिलाउन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन हान्निने साईत जुराईएको छ। जापान हुँदै चीन जाने कार्यक्रम तय भएपनि अब भने उनी जापान नगई  सिधै चीन भ्रमणमा जाने भएकी हुन्। 

स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर (१३ मंसिर) मा चीन जाने भएकी हुन्।यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिक थियो। 

काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो। बेइजिङ पुगेलगत्तै मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग त्यसैदिन द्विपक्षीय भेटवार्ता पनि तय भइसकेको थियो। 

जापान नजाने भए पनि मन्त्री राणा चीन भ्रमणमा भने जानेछिन्। अब मन्त्री राणाको बेइजिङ प्रस्थान गर्ने कार्यक्रम १३ मंसिरका लागि तय भएको छ।

 १३ मंसिरमा बेइजिङ प्रस्थान गरेर आरजुले १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङसँग हुने भेटवार्ताको कार्यक्रम छ। 

यसअघि निर्धारित मितिभन्दा एक दिनअघि बेइजिङ पुग्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणमा मन्त्री राणा उतैबाट सामेल हुने वा काठमाडौँबाट सामेल हुने भन्ने टुङ्गो अझै लागेको छैन। 

चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ। सुरुवातमा प्रस्तावित मितिमा केही हेरफेर गर्ने पक्षमा रहे पनि पछिल्लो समय प्रधानमन्त्री ओली पनि सोही मितिमै चीन जाने तयारीमा छन्। 

यसैअनुरुप नेपाल र चीन दुवै मुलुकले भ्रमणको तयारी सुरु गरे पनि भ्रमणको औपचारिक मिति घोषणा भने अझै भएको छैन। त्यही कारण मन्त्री डा.राणा उतैबाट भ्रमण दलमा सामेल हुने वा फेरि काठमाडौँ फर्केर जाने भन्ने तय नभएको हो। अब बस्ने क्याबिनेटले प्रधानमन्त्री ओलीको ठ्याक्कै भ्रमण मिति तोक्ने बुझिएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्