सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीस्वरुप बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी नहुने भएका छन् ।
उनले आज (सोमबार) बिहान सामाजिक सञ्जाल एक्समार्फत् यसको जानकारी दिएका हुन् ।
आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने जानकारी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक भट्टराईले दिएका छन् ।
यस क्रममा उनले प्रधानमन्त्री ओलीलाई केही सुझाव भने दिएका छन् ।
दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्नेलगायत उनका सुझाव छन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका लागि भन्दै आज बिहान ११ बजे पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल गर्दैछन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी हुने भए पनि स्वास्थ्यका कारण लोकेन्द्रबहादुर चन्द भने सहभागी नहुने यसअघि प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका थिए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओलीलाई नजिकको छिमेकी देश भारतले निम्तो दिएको छैन । यसैले उनी अर्को छिमेकी चीनको भ्रमणमा जान लागेका हुन् ।