केबलकार भनेकै लक्ष्मणबाबु र लक्ष्मणबाबु भनेकै मनकामना केबलकार, २७ वर्ष लाग्यो

सोमबार, मंसिर १०, २०८१

देशकै पहिलो केबलकार रुपमा स्थापित मनकामना केबलकार वयस्क भएको छ। अर्थात उक्त केबलकार २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । मनकामना केबलकार नेपालमा वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको पहिलो केबलकार हो । 

प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो। 

कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ। 

केवुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । मनकामना मन्दिरलाई सर्वव्यापी बनाएकै मनकामना केबलकारले नै हो। 

२६ वर्ष पुगिसकेको एनलग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हालैमात्र डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ । 

मनकामना केबलकारमा प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजनहरु पुग्ने गर्छन् ।

केबलकारमा ३४ वटा गोन्डोला छन् भने प्रत्येक गोन्डोलाबाट एक पटकमा ६ जना पर्यटकले यात्रा गर्न सक्ने व्यवस्था छ ।

मनकामना मन्दिरको कथा

मनकामना मन्दिर किन र कहिलेदेखि हाम्रो देश र विश्वका हिन्दुहरूका लागि श्रद्धा र समर्पणको स्थान बन्यो भन्ने इतिहास रोचक छ । मनकामना मन्दिरका पुजारी सिद्धलखन थापाका अनुसार पृथ्वीनारायण शाहका पुर्खा राम शाहको मनकामना नाम गरेकी रानी थिइन् । उनी साक्षात भगवतीको रूप थिइन् तर राजा र जनताका अगाडि उनी सामान्य महिला थिइन् । मनकामनामा ईश्वरीय यथार्थता गुरु गोरखनाथलाई थाहा थियो । यसै क्रममा गुरु गोरखनाथले मनकामनाका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले । यस्तो शुद्ध व्यक्ति खोज्दै जाँदा उनले दाउरा काटिरहेको लखन थापालाई भेटे । उसको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले उसलाई शिक्षा र ज्ञान दिए । यसपछि सामान्य व्यक्ति लखनथापा सिद्ध लखन थापा भए।

कालान्तरमा मनकामना देवीले यो संसार छाड्न लागेपछि सिद्ध लखन थापाले पनि देह छाड्ने इच्छा व्यक्त गरे । तर देवीले तिमी अहिले बस, म फेरिकुनै न कु्नै रूपमा प्रकट हुन्छु भनेपछि रोकिए । त्यसपछि आजको मनकामना मन्दिर भएको ठाउँमा आफ्नो खेत जोत्दा हलो ढुङ्गा फुटेर दूध निस्कियो । यो देखेपछि सिद्ध लखन थापा र सबै गाउँलेले यो मनकामना भगवतीको रूप भन्ने बुझी मन्दिर खडा गरे र लखन थापा पुजारी भई ध्यान गरे । उनै सिद्ध लखन थापाका सन्तानले त्यस समयदेखि मन्दिरको पुजारीको काम गरे र हालका पुजारी इन्सान थापा यही इतिहासको निरन्तरताका पात्र हुन्।

पवित्र तिर्थस्थल मनकामनामा केबलकार संचालन गर्ने महत्वपूर्णकाम लक्ष्मणबाबु श्रेष्ठले गरेका हुन्। आज भन्दा २७ वर्ष अगाडी श्रेष्ठले उक्त काम गर्नु चानचुनेपूर्ण भने थिएन। लक्ष्मणबाबु कति दुरदर्शी रहेछन् भन्ने कुरा अहिले देशभर बनेका र बन्न खोजेका केबुलकार परियोजनाको चाङ्गले उसै पुष्टी गरेको छ। केबलकार भनेकै लक्ष्मणबाबु र लक्ष्मणबाबु भनेकै केबलकार भएको भाष्य नै स्थापित बनेको छ। मनकामना केबलकार संचालनमा आएको १७ वर्षपछि मात्र अर्को केबलकार संचालन हुन सक्नुले पनि लक्ष्मणबाबुको दुरदर्शिताको दुरी मापन गर्न सकिन्छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्