सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीले सोमबार २ बजेका लागि त्रैमासिक समीक्षा बैठक बोलाएका थिए। त्यो बैठक स्थगन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ।
अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम आइतबार मात्रै सिफारिस गरेकाे छ।
धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ।
त्यसैगरी दुवै प्रहरी संगठनको नयाँ विधेयक पनि आजको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृती दिने सम्भावना छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा गृहमन्त्री रमेश लेखकले गएको शुक्रबारै हस्ताक्षर गरेका थिए।
त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका समेत स्वीकृत हुने बुझिएको छ।