रविलाई पोखराबाट कहिले ल्याईन्छ काठमान्डू ?

मंगलबार, मंसिर ११, २०८१

सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिरवि लामिछानेलाई बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याइने भएको छ।

उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ ।

रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई बुधबार साँझ या बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी प्रहरीबाट मिलेको बताएका छन् । ‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सि बिहान मात्रै काठमाडौं पठाउने भएको छ’, उनले भनेका छन् ।

उनलाई मंगलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको थियो । तर मौसम खराबीसहितका कारण देखाउँदै उनलाई प्रहरीले पोखरामै राखेको हो ।

कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको थियो ।

काठमाडौंमा ल्याएपछि बयान गराएर फेरि पोखरामै फर्काउने तयारी छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयान गराउन लगिनेछ ।

यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा रुपन्देहीमै बयान दिइसकेका छन् । गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्