सुन वितरणमा लगाइएको सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

बुधबार, मंसिर १२, २०८१

सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा लगाइएको सिन्डिकेट हटाउन आदेश दिएको छ ।

सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट भएको भन्दै दायर रिटमा सर्वोच्चले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संघ र संगठनमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ । यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासंघसहितका संघ महासंघको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नै नपाइने अवस्था थियो ।

संघ महासंघले सुन खरिदका नाममा नियमावलीलाई गलत व्याख्या गरेर सिन्डिकेट लादेको भन्दै श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले रिट दायर गरेका थिए । तर, अब व्यवसायीले वाणिज्य बैंकबाट आयात भएको सुन सिधै खरिद गर्न पाउने भएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्