सोसल मिडिया
युनिकोड
लेखकको परिचय बिना बजारमा हल्ला पिटेको रोमा लम्साल बहिनीको मुक्तक संग्रह अन्तिम भेट हातमा परेको धेरै समय पछि पढ्ने समय मिल्यो ।
बिशिष्ट साहित्यकार ज्ञानुवाकर पौडेल जस्ता अग्रज ब्यतित्वको मन्तब्य र सुनिल अधिकारी र हरिकृश्ण काफ्ले जस्ता मुक्तकका हस्तिबाट बिशिष्ट शुभकामना र साहित्यकार छवि वैरागी घिमिरे, र सुमित्रा सुमी, गजलकार दोय आँचलकुमार शर्मा, र जगत खड्का दोलखाली ज्यूहरूबाट शुभकामना मन्तव्य लेखियको यो कृति आफैमा उत्कृष्ट होला र यस कृतिमा म समिक्षक भएर गल्ति कमजोरी औंल्याउने हैसियत राख्दिन र औकात पनि छैन यो त केवल समालोचनामा बिषयगत अध्यन गरेका समालोचकको अधिकार हो ।
तर पनि म एउटा मुक्तकको पाठक र सर्जकको नाताबाट स्थापित रोमासंगको परिचयको कारणले केहि लेख्ने धृष्टता गरेको मात्रै छु र संग्रहप्रतिको मेरो बिचार ममा निहित मेरो निजी सोच मात्र हो सायद कसैलाई अन्यथा लाग्न सक्ला, त्यसो भए छ भने पेश्की स्वरुप क्षमाप्रार्थी छु है ।
"आँधी बन्छ खहरे खोला ,कसले सोचेको थियो र रित्तिन्छ छिनमै भरी झोला ,कसले सोचेको थियो र खास बन्छु भन्ने मान्छे ,आखिरमा लास बनेर आयो अन्तिम भेट यसरी होला ,कसले सोचेको थियो र "
सुन्दर नामकरण संग्रहको "अन्तिम भेट " ।अन्तिम भेट मुक्तक संग्रह भित्र रहेका २०१ ( संग्रहमा २०२ मुक्तक रहे पनि १० र १९ नम्बरमा दोहोरिएकोले) मुक्तकहरुले के, कसरी, कहाँ र कसलाई बोल्दै छन भन्ने आंकलन माथिको मुक्तकमा गर्न सकिन्छ जसले दुइ सय मुक्तकको एक्लै प्रतिनिधित्व गर्छ र अरु मुक्तक पनि एकसे एक रोचिला र पेचिला अनि मर्मस्पर्शि भएकोले जति पढ्दै गयो उति पढौं पढौं लाग्दै गर्दा किताव सक्किएको पत्तै हुँदैन । मुक्तककार रोमा जस्तै सुन्दर बुनोटमा मुक्तक सज्जिएका छन ।रोमा आफै हवाई परी नभए पनि उनको नुनतिउनको जोहो गर्ने थलो श्री एर्लाइन्सको हवाई परी भन्दा कम छैनिन् मुक्तकमा उड्न र अरुलाइ उडाउन अक्षर मार्फत :
"सानो ठूलो मोटो या झिनो के लिएर जान्छौ जे छ दिन्छु खस्रो मसिनो के लिएर जान्छौ यस्तो थियो सम्बन्ध हाम्रो सम्झनाका लागि छुट्ने बेला मायाको चिनो के लिएर जान्छौ?" ४३
मान्छेको जिन्दगी एकतमास रहन सक्दैन्।कहिले के हुन्छ चासोको बिषय हुन्छ र हामी पनि आफ्नै भाग्यप्रति निश्चिन्त नहुनाले हस्त रेखा देखाउन पुगिन्छ र निश्चिन्त हुन कर लाग्छ तर अरुको भाग्यरेखा बताउने ज्योतिष रोए छ रोमाको हात हेरेर ।सायद कमै मान्छेको हात हेर्दा यस्तो भएको हुनु पर्छ ::
"औंला भाचेर गनीगनी मेरै हात हेरेर नबोली कतै केही नभनी मेरै हात हेरेर के देखियो भविष्य मेरा हातका रेखामा रोएका थिए ज्योतिष पनि मेरै हात हेरेर "८
भाग्य कसैको एक तमास रहँन सक्दैन ।मौसम जस्तै फेरवदल भैरहन्छ र भाग्यको निर्धारण चालले गर्द छ ।यही चालले कसैलाइ दुनियाको कुन ध्रुवतिर लत्याउने हो थाहा हुँदैन । जन्मघर छोडेर केही गरौं भन्ने हुटहुटिले बगाएको पसिनामा फुलेको फूल हेर्ने तिव्र इच्छा कसलाई हुदैन होला कठै!!
" लागिरहन्छ हेर्ने रहर कस्तो भयो होला सोचिरहन्छु रातभर कस्तो भयो होला घरकै छानो फेर्नको निम्ति परदेशिएको म टिनले छायछिको मेरो घर कस्तो भयो होला"- ६
यस्तै पसिनालाई पैसामा बदलेर घरका चमेली र बाउ आमाहरूको मिठो सपना पूरा गर्नु सन्तानको कर्तव्य हो चाहे त्यो पसिना स्वदेशमा बगोस वा परदेशमा । हरेक घडिपलाहरूमा आंखिभौंका ओडारबाट पसिना तप्काएर ताते गर्दैगर्दा छोडेका सन्तानको भबिश्य कतै आफ्नो जस्तो परवासिनुतिर उन्मुख नहोस् भनेर भाकल गर्छन् यो भोका पेट, कामना गर्छन् नाङ्गा छातीहरू पर कतैको देशबाट देशको प्रगतिको लागि : " कसैलाई पनि नढाटी नछली देशले माग्यो भने सम्झिनें छैन माइती मावली देशले माग्यो भने बुद्दका उपदेशलाई पनि पर राखेर एकछिन बरू! चढाईदिनुस मेरै बली देशले माग्यो भने "- ११
अबिबाहित रोमा नारी समबेदनाप्रति पनि त्यतिकै जानकार छिन् । एकल महिलाहरूलाई समाजले हेर्ने फरक दृष्टिकोणको पीडा भनौ बिधवाको बिबसतामा बाँच्न बाध्य बहिनीहरूको मर्म यसरी बुझ्छिन् रोमा:
"दुखेकै छ भित्री पाटो नआए पनि हुन्थ्यो बसेकै छैन घाउको खाटो नआए पनि हुन्थ्यो भर्खर मेरी बहिनीको सिउँदो पुछिएको छ तिम्री दुलही यही बाटो नआए पनि हुन्थ्यो"-१२
सन्तान सच्चा त्यो हुन्छ जसले जन्मदाता र जन्मभूमिलाई इज्जत गर्द छ गुरूको सम्मान गर्दछ ।जता गए पनि जहा रहे पनि दुनियाका सामु जन्मदाता ( आमा र बा) र गुरूको प्रसंसा गर्न पछि हट्दैन उही नै सच्चा सन्तान र चेला बन्द छ चाहे ऊ आफै अपमानित किन नहोवस् यस मानेमा पनि रोमा असल सन्तान बनेकी छिन् : " शीत उठाएर घैला भर्ने मेरा बा पनि थिए बिर्सिए पनि सम्झिनै पर्ने मेरा बा पनि थिए सालिक बनेन सहिद भनिएन अलग कुरा हो देशकै खातिर लड्दा मर्ने मेरा बा पनि थिए"-१५
मान्छे स्वतन्त्ररूपमै जन्मिन्छ एक सुकुम्बासी भएर ।जव उसको न्वारान हुन्छ तवमात्र ऊ भूमिमालिक ,जमिन्दार यस्तै यस्तै उपमा प्राप्त हुने हो जन्मिएको घरको आधारमा ।सडक बालक हुनु भाग्यको खेला होइन यो त केवल नियतीको कुरा हो ।नियतीले महललाई बुकुरो र बुकुरोलाई महल पनि बनाउन सक्छ ।नियतिको पीडामा बाँच्नेहरूलाई बहानाबाजिमा तड्पाउनु गलत कार्य हो ।उनिहरूलाई उनिहरूकै दुनियामा जिउँन दिनुपर्छ ,नानाभाँति उल्झनमा उनिहरूको खाटा उप्काउनु भनेको थप पिडा दिनु हो::
" जे छ ठिकै छ सकभर नसोधिदिनुहोला मर्न सक्छ जिउँने रहर नसोधिदिनुहोला जिउँने कला खोज्दा खोज्दै थाकेको छ आफै सडक बालकलाई घर नसोधिदिनुहोला"-५१
सडकछाप बालक जस्तै गरीविमा बाँच्नु पनि रहर होइन कसैको ।सबै मान्छेका रहरको चांग अनगिन्ती हुन्छन् भलै पुरा होउन् ।तर गरीव बनेर बाँच्ने धनिहरूको सपना एउटै हुन्छ सारा ब्रम्हाण्ड नाप्नु ।खाली खुट्टा हिड्नेहरूलाई मात्र महत्व थाहा हुन्छ चप्पलको ।एकजोर चप्पलले विश्व नाप्ने महानायकहरू नदेखेको पनि होइन र यस्तै कथाहरू नसुनेको पनि होइन ।त्यसैले गरीवलाई खाना र वस्त्र होइन चप्पन किनिदिऔ जसले सारा पृथ्वि नापेर कावा खावस दुनियामा ::
" नापको गरेर अड्कल किनिदिए पुग्छ गर्नै पर्दैन छलफल किनिदिए पुछ तपाइकै नाम जप्नेछ भगवान सम्झेर गरीवलाई केवल चप्पल किनिदिए पुग्छ"-५२
दुनियामा मान्छेहरू बालक, बृद्द, धनि, गरीव, पागल, सज्जन आदि हुनु भनेको सामान्य कुरा हुन् यो चिज निर्धारण देश समाज र परिवारले गर्ने हो ।आगनको देवतालाई खोलामा फालेर बजारको मूर्ति सोफामा राखेर पुज्ने हठ मनुवालाई देखेपछि रोमा यसरी कटाक्ष गर्छिन् :
"सुनलाई पर छोडेर तामा ,किन राखेको होला भरोसा सकिदा नि भरोसामा ,किन राखेको होला बिहान बिहानै मन्दिरमा भगावन भेट्न जानेहरूले आश्रममा आमा छोरो सोफामा ,किन राखेको होला "-६७
यसरी बोलिएको कटाक्षलाई आफ्नो पागलपन ठान्ने रोमा आफ्ना दुस्मनहरू मज्जाले चिनेकी रहिछन् :
" खाडल मात्र खन्नेहरू कति छन् कति छन् औला भाची गन्नेहरू कति छन् कति छन् अल्झिएमात्र यी खुट्टा सफरमा एकछिन बल्ल खाइस भन्नेहरू कति छन् कति छन्।-२०
हो, यसरी छेउछाउ आउनेहरू सबै दुस्मन मात्र हुँदैनन्।कोही सम्झिनै पर्ने पनि हुन सक्छ जसले आफ्नै अङ्ग पनि उसकै हो भनेर कल्पिन बाध्य पार्छ गाग्रीको त के कुरा :
" सुस्केराको श्वास फेरिरहे गाग्री बोकी बोकी गाग्रीलाई हातले घेरिरहे गाग्री बोकी बोकी कम्मरको गाग्रीलाई तिम्रै स्वरूप कल्पिएर तिमी जाँदा हेरिरहेँ गाग्री बोकी बोकी "-२४
गाग्रीमा पानी बोकेर परदेश जानेलाई आफ्नै सम्झिरहँदा झसङ्ग छाँगाबाट खसे जस्तो भएर सम्झाई बुझाई गरेर उसको मनसँग टाँसिएको आफ्नो मन हलुङ्गो बनाउन यस्तो बोल्छिन रोमा : "दिनेले नदिए नि उचित भाउ देश छोड्ने बेला नबनाऊ नयनलाई तलाउ देश छोड्ने बेला परदेशमा पनि देशकै सुगन्ध आइरहन्छ एक पसर माटो लैजाऊ देश छोड्ने बेला" -२६
परदेशीहरूले लगाएको पिरतीले निकै मुटु पोल्दा आफ्ना अनुभव अरू सङ्गिहरूलाई सुनाएर सचेत गराउनु पनि एउटा सचेत दिदीको कर्तव्य हो ,
"जीवनको हुन्छ खति लगाउन हुँदैन मन पोले पनि भतभती लगाउन हुँदैन भए पनि आँखामा राख्दा नबिझाउने मुसाफिरसग पिरती लगाउन हुँदैन"-२९
जव जन्म घर पराई बन्छ र पराई घर कर्म घर बन्द छ तव चेलीको असलि स्मृतिपट गज्जवले खुल्द छ र अतितका यादहरू निरन्तर पर्दामा आईरहन्छन् चलचित्रका कथाका पात्र जस्तै हरेक निमेषमा: " को थिए खराब को थिए असल सम्झनामा रहन्छन् कता ठेस लाग्यो कता भयो छल सम्झनामा रहन्छन् जन्मेको घरमात्र छोड्नुस या त तपाई देशै छोड्नुस बिर्सन सकिदैन बितेका पल सम्झनामा रहन्छन् "-३३
जन्म घर छोड्नु अथवा बेदेशिनुको पीडा समान हुन्छ चाहे चेली होउन् चाहे छोरा । जत्तिको पीडा घर छोड्नेलाई हुन्छ त्यति नै समान पीडा घरमा बस्नेलाई हुन्छ । आगो भर्भराउँदा होस कि काग कराउँदा, सपनामा हराउँदा होवस कि हुलाकी देख्दा ,हरेक पलपल त्रसित हुनु पर्छ ।बाजेको पाला देखि चलेका केही उक्ति र शुक्तिले पनि राम्रा नराम्रा पक्षको सन्देश बोकेर आउछन् भन्ने मान्यता राख्दछन्: "आगो भरभरायो कुनै डर नआइदिए हुन्थ्यो बिन्ती छ भगवान सकभर नआइदिए हुन्थ्यो काग कराउँन थाल्यो घर छेउको बाँसमा बसी कसैको पनि नराम्रो खवर नआइदिए हुन्थ्यो" -४२
एक त परवासको ठाउँ त्यसमा पनि घरको चिन्ता ।प्रहर प्रहरमा देश दुखिरहँदा आफ्नै घरको अशुभ समाचार लुकाएर भए पनि हाँसेको खवर पठाएर बिदेशिएका सन्तानलाई मख्ख पार्नु पनि अविभावकको कर्तव्य हुन्छ ,यसैले कोही उतै तिर जाँदै छन भने पनि अशुभ खवर शुभ बनाएर सुनाइदिनु भन्न कहर लाग्छ:
"बाधा पर्छ सफरमा बिन्ती छ नसुनाईदिनु पीडा छ यो खवरमा बिन्ती छ नसुनाईदिनु ऋण तिर्न भर्खर मात्र परदेशीएकी छ छोरी आगो लाग्यो घरमा बिन्ती छ नसुनाईदिनु"-४८
परवास सवैको एकै खाले हुदैन ।जन्मथलोलाई चटक्कै भुलेर उतैको रमझममा बिलय हुने कति सन्तान नभएका पनि होइनन् ।परवासको उठवसले गाउ बिर्सनु मात्र होइन ,सङ्गै खेलेका जिग्री र दोस्तहरू समेतका अनुहार बिर्सिगएपछि आफ्नो मन आफै घोत्लेर यसरी बुझाउन सकिन्छ:
""अनुहारमा हेर्छ चिन्छ नसोचे पनि हुन्छ दोभान पुगेर फर्किन्छ नसोचे पनि हुन्छ फर्किए जसरी मौसम दुरुस्तै धर्तीमाथि बगेको खोला फर्किन्छ नसोचे पनि हुन्छ"-५८
लामो समय सम्म देशको बारेमा पत्तो नपाएकाहरू पनि यै समाजका अङ्ग हुन् र नागरिक भएर पनि देशमा लागेको दूषित हावाको बारेमा पत्तो नहुँदा यसरी सचेत बन्न आग्रह गर्दै खवर पठाइन्छ :
" तय तयमै रहिरह्यो तय बनेको छैन बर्बाद मात्रै भो बरू समय बनेको छैन प्रभावकारी शिक्षा नीति संबिधानमा छ दुर्गम बस्तीमा बिद्ध्यालय बनेको छैन"-६३
देश बनेन ,देश चलेन भन्दै देशकै पछि दगुर्नु पनि राम्रो होइन ।नेताले देशको बारेमा नसोचे पनि एउटा घरमूली भनौ असल गृहणीले आफ्नो र परिवारको बारेमा सोच्नु झन राम्रो हो ।परिवार मात्र नभएर आफ्नै जिन्दगी कसरी चलाउने भन्ने चेतना यसरी जगाइन्छ :
"रोकिन हुन्न प्रत्येक पला चलाईराख्नु पर्छ जे- जे छन आफ्नो कला चलाईराख्नु पर्छ पीरले थप पीरको दोकान थापे पनि दिलमा जिन्दगी जिउँने शृङखला चलाईराख्नु पर्छ" -१३७
आफ्नो मात्र जिन्दगीको बारेमा सोचेर सफल समाजसेवी बन्न सकिदैन त्यसको लागि त्याग र बलिदानी अबश्य चाहिन्छ ।जसले पनि आफ्नो जिवनस्तर माथी उठाउँन ,पर्दा पछाडि र अगाडि दुबै तिरबाट केहि न केहि गरेकै हुन्छन् चाहे ति राजनेता होउन् या व्यापारीँ भनौं कर्मचारी ।यि र यस्तैखाले समाजका कलंकहरूलाई देखेर दिक्क लाग्छ
"व्यापारी सँगै व्यापारीले घुस किन खाएका होलान् थिच्ने छ घुसकै भारीले घुस किन खाएका होलान् घुस लिने र दिने देशकै दुश्मन हुन जानाजानी हाम्रा देशका कर्मचारीले घुस किन खाएका होलान्।"-१६१
यसरी कालो धनले जिवन बदलेका कर्मचारी र नेताहरुलाई आफ्नो समाजको अनुत्तरित रोदनले गर्दा बिरक्तिएको नुनिलो मनले सिधै प्रश्न सोध्छिन रोमा ::
"सवाल सवालमै छन सवाल कहिले बन्छ सरकार जहिल्यै गरिन्छ आलटाल कहिले बन्छ सरकार सिटामोल मात्र किन्न सहरसम्म धाउनु पर्छ दुर्गम गाउमा अस्पताल कहिले बन्छ सरकार"-१९१
देश भित्रको यो बेहाल अनि परदेशिएको आफ्नो मान्छेको भरोसा टुटे पछि उनिहरूले देखाउने गुड जस्तै इटालाइ कसरी बिस्वास गर्ने? उसको बनावटि कुराको कसरी आत्मसात गर्नु ? त्यसैले त्यस्ता नौटँकिको समयमै सफाया गर्नु उचित हुन्छ:
" तिमी बस्ने ठाउँ र तिम्रो उपहार चाहिँदैन चाहिँदैन त्यो नयनको प्यार चाहिँदैन रुझाउँनकै लागि त तिम्रो सम्झना छँदै छ साउन चाहिँदैन आखालाई असार चाहिँदैन"-१४१
उसले जसरी उनलाई छलकपट गरेपनि त्यो मन भित्र उस्कै तस्विर छ र उसको यादमा हरपल उनि पागल बनेकी छिन्, किनकि मैले सत्य बोल्छु भन्दै आफैलाई पागल प्रमाणित गर्छिन् रोमा:
"सत्य मात्रै बोल्ने नढाँट्ने एउटा पागल म पनि हुँ शत्रुको पनि कुरा नकाट्ने एउटा पागल म पनि हुँ चामलसँग पीठो समेत नसाटिने यो बजारमा मनलाई मनसँग साट्ने एउटा पागल म पनि हुँ"-१५७
जिन्दगीका उतार चढावमा जे जसो भए पनि बय साटियो लय साटियो थर र घर साटियो ।तिमी साक्षात मेरो अन्तिम जुनितक आफ्नो बन्न नसके पनि यो प्राणले बायु ओकल्दै गर्दा समेत म तिम्रो प्रतिक्षामा हुने छु सायद अदृश्य र अन्जान सहयोद्दासँगको रोमाको अन्तिम भेट यहि
नै हुने छ सम्भवत:: अर्को जुनिमा भेट होला नहोला: ""दिनहरु गन्छु रातहरू गन्छु अन्तिम भेटका लागि जे जति सहनु पर्छ सहन्छु अन्तिम भेटका लागि रहर रहरमै मरेछन् भने मेरा रहर रहरकै सफरमा तिमी चिता बन्नु म लास बन्छु अन्तिम भेटका लागि"-२०२ ।
अन्तिम भेटमाथिको मेरो नितान्त निजी बिचार हो यो टिप्पनि न कि यो समालोचना ।समालोचना भित्र राम्रा नराम्रा पक्ष पनि केलाईन्छ तथापि मेरो टिप्पनिमा मेरो भावना र मनलाई यसभित्रका मुक्तकहरूले चिटिक्क चोरेर लगिदिँदा सवै राम्रा पक्षमात्र लेख्न तिर सरें ।
हुन त अचेल मुक्तक पनि छन्द अथवा बहरमा लेखिनु पर्छ भन्ने आवाज उठेको देखिन्छ तर पनि स्वतन्त्ररूपमा लेखिएका मुक्तकहरू पनि गायकीमा ढाल्न सकिने पनि छन् | अभिब्यक्ति र बिचारको स्वतन्त्रतालाई भरपुर उपयोग गरिएका यस संग्रहभित्रका मुक्तकहरूले नसमेटिएको कुनै पाटो छैन ।त्यसैले कसैले मुक्तककार बन्ने वा संग्रह निकाल्ने सोच राखेको छ भने यो मुक्तक संग्रह "अन्तिम भेट "पढोस र मात्र संग्रह प्रकाशन गरोस भन्छु ।अलिकति भन्न मन लागेको कुरा के भने मुक्तककारको परिचय नराखिएकोले यति राम्री मुक्तककारलाई जन्म दिने श्रदेय बुवा आमा प्रति अन्याय भएको महसुस हुन्छ ।हुन त सर्जकका आफ्नै गोपनियता पनि हुन सक्छन् |
यो मुक्तक संग्रहले नेपाली साहित्यको भण्डारमा मुक्तक बिधा तर्फ रोमालाई एउटा सफल र अब्बल मुक्तककारको दर्ज्यानी चिन्ह अबश्य प्रदान गरेछ , त्यसैले रोमाको चोपिलो कलमलाई सलाम गर्दै सबैले एक पटक अबश्य पढ्नु होला भन्ने अनुरोधका साथ रोमा बहिनीको साहित्यिक यात्राको अझै अनन्त शुभकामना ।धन्यबाद !!