वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने सञ्चारमन्त्री गुरूङको दाबी

शनिबार, मंसिर १५, २०८१

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उनले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो ।

‘यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन । म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस् । सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ,’– उनले भने ।

अझै डेढ वर्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्