बिहे गर्न तारन्तार दबाब दिएपछि प्रेमीले पेमिकाको उडाए प्राण पखेरू

शनिबार, मंसिर १५, २०८१

धनुषामा एक युवतीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका-३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका-८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।

मंसिर ८ मा जनकनन्दिनी-४ र कमला नगरपालिका-२ सरावेकोबीच सिमानामा पर्ने नहरमा बोराभित्र २० वर्षीया रेखा कुमारी मण्डलको शव फेला परेको थियो ।

पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले बताए । बिहे गर्ने विषयमा विवाद हुँदा राम ललितले साथीको सहयोगमा हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

राम ललित र रेखाबीच करिब ४/५ वर्षदेखि प्रेमसम्बन्धमा रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन् । तर, घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।

राम ललितले भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । बिहे तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

रामललितले रेखालाई भेटघाटका लागि बोलाइ साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डीएसपी सिंहले बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्