चीनको राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री ओलीको के-के तय भयो कार्यक्रम ?

सोमबार, मंसिर १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हिमालय एयरलाइन्सले जनाएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज मंसिर १७ देखि २० गतेसम्मका लाग चीनको भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् । ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी,नेपाली कांग्रेसका सांसदद्धय श्यामकुमार घिमिरे र अर्जुननरसिंह केसी, तथा सांसदहरु रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रञ्जिता श्रेष्ठ, र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ । ९ जना सांसद बाहेक प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा। युवराज खतिवडा रहेका छन् ।

त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालय का।मु सचिव अमृत बहादुर राई, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्