सोसल मिडिया
युनिकोड
शिक्षकको समग्र मुद्दाका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको ध्यानाकर्षण गराईएको छ। विद्यालय कर्मचारीको तलब, सरुवा, अवकाश, दरबन्दी र विद्यालय शिक्षा विधेयक-२०८० का विषयमा केन्द्रीत रहेर नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा मन्त्री भट्टराईको ध्यान तानिएको हो।
परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले मन्त्री भट्टराईलाई भएभरका समस्या सुनाएर पहाल गर्न आग्रह गरेका हुन्। तिवारीले ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई स्थानीय तहले अवकाश दिन खोजेको हुँदा तत्काल उक्त कार्य नगर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराए।
ध्यानाकर्षणपछि मन्त्री भट्टराईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्रका लागि सहसचिवलाई ठाउँको ठाउँ निर्देशन दिइन्। उनको निर्देशनको पालना गर्दै सामान्यलाई पत्राचार गरिएको छ। अब हरेक महिना कर्मचारी शिक्षकले तलब पाउने मेलोमेसो मिलेको छ।
तिवारीले ऐनकानुन नबनेसम्म विद्यालय कर्मचारीको सरुवा गर्न नपाउने सम्बन्धी परिपत्र गराउन शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराएको बताए। अध्यक्ष तिवारीले उच्चस्तरीय दरबन्दी मिलान कार्यदलमा विद्यालय कर्मचरको सेवा, सर्त र सुविधा अनिवार्य समावेश गरी सुनिश्चितता गराउने विषयमा पनि शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन्।
शिक्षामन्त्री विद्या भट्टराई विद्यालय कर्मचारीको तलब वृद्धिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कुराकानी गरिसकेको बताइन्। विगतमा सबै शिक्षक र कर्मचारीको तलब दुई हजार रुपैयाँ बढ्दा विद्यालय कर्मचारीको भने बढाइएन। शिक्षामन्त्री भट्टराईले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि तलब वृद्धिबारे टुंगो लाग्ने शिक्षामन्त्रीले बचन दिएको तिवारीको तर्क छ।