प्रचण्डले फेरि एक राउण्ड नयाँ जनक्रान्ति गर्ने

बुधबार, मंसिर १९, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नयाँ जनक्रान्ति आवश्यक रहेको बताएका छन्।

गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका हुन्।

‘प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने हुन्छ। त्यसका लागि मुलुकमा नयाँ जनक्रान्तिको आवश्यकता छ,’ उनले भने, ‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ। त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं।’

भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनको भनाइ छ।

‘एउटा नयाँ क्रान्ति आवश्यक परेको छ। प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,’ उनले भने। आगामी चुनाव माओवादीले कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने उनको दाबी छ।

‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ। म त बाटो लागिसकेँ। मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्