सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओली चीन उडेकै दिन मङ्सिर १७ गते शहरी विकास मन्त्रालय अन्तर्गतको कार्यालयका नायव सुब्बा पशुपति पोखरेल मन्त्रालय प्रवेश गर्ने मूल ढोका अघिल्लिर ठिङ्ग उभिए। उनी त्यहाँ त्यसरी उभिन थाल्नु र उपप्रधान समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिङ्गले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु संग संगै भएको थियो।
कार्यबहाक प्रधानमन्त्री प्रकाशले मन्त्रालय प्रवेश गर्दा पशुपतिलाई दाहिने र बाहिरिंदा देब्रे पारेर निस्कदै आए। पशुपतिको भद्र अवज्ञा आन्दोलन पनि चलिनै रह्यो उनले उभिने कर्म छोडेनन्। हरेक दिन ११ बजेदेखि ३ बजेसम्म उभिएरै उनले आन्दोलन जारी राखे। जसै प्रधानमन्त्री ओली चीन बाट स्वदेश फर्किए उसै दिन पशुपतिलाई मन्त्रालय प्रशासनले वार्तामा बोलायो। तीन दिन पछि उनलाई मन्त्रालयका उपसचिव बैकुण्ठ उपाध्यायले आफ्नो कार्यकक्षमा वार्ताका लागि बोलाए। बोलाउन त बोलाए तर अवस्था चाँही कसो कसो हानाहानकै तहमा पुग्यो।
हानाहान पनि नहोस् किन ? पोखरेलले सार्वजनिक रूपमा बैकुण्ठलाई घुस्याहाको सरदारको बिल्ला भिराएका थिए। पशुपतिलाई बैकुण्ठले कर्मचारी सरुवा गर्दा घुस खाएको पुष्टी गर्न चुनौती दिए भने पशुपतिले सरुवा आफैं बोल्छ होइन भने छानबिन समिति बनाएर मलाई जाके हुन्छ भन्दै कड्किए। उपसचिव र नायवसुब्बाको दोहोरी चलेपछि त्यो विषय शहरी सचिव सम्मै पुग्यो। शहरी मन्त्रालयका नयाँ सचिव गोपाल सिग्देलको कार्यकक्षमा माग सम्बोधन गर्न पहल गर्ने बताएपछि नासु पशुपतिको आन्दोलन तत्काललाई स्थागित भएको छ। तर, उनले मन्त्रालयमा खडा भएर गरिने आन्दोलन अन्यत्र सर्ने संकेत गरेका छन्। संघीय निजामति सेवा ऐन तत्काल जारी गर्नु पर्ने भन्दै उनले विगत लामो समय यतादेखि आन्दोलन गर्दै आएका छन्।
कर्मचारीको अब्यबस्थित सरुवा र त्यसमा हुने गरेको मोलाहिजाले सिंगो निजामति सेवामा कालीपोके देखा परेको उहिल्यै बाट हो। एउटा जिम्मेवार कर्मचारीले नामै किटेर घुस खायो भन्दा तैं चुप मैं चुप हुनुले त्यसको पुष्टी हुने आधार देखिएको छ। हुन पनि नासु पोखरेलले नामै किटेर घुस खाएको बात् लागेका उपसचिव बैकुण्ठ पाँच बर्षको पेरिफेरीमा तेश्रो पटक शहरी विकास मन्त्रालय पुगेर शासन भने गरि रहेकै छन्। उनको अस्वाभाविक सक्रियताले त्यहाँका कर्मचारी आजित हुनु र पशुपतिले घुस्याहा करार गर्नु संयोग मात्र चाँही होइन की भन्ने लख काट्न थालिएको छ।