प्रधानन्यायाधीशको बाहुलीबाट बाँडियो वरिष्ठ अधिवक्ता प्रमाणपत्र

शनिबार, मंसिर २२, २०८१

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताएका छन्।

शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरुले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले न्यायालय आफै गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानुन व्यवसायीहरुको भएको बताए।

गरिमामय न्यायालय, स्वच्छ न्यायालयको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ। लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो कि न्यायालयलाई गरिमामय पनि बनाउने हो? यो आफै गरिमामय त बन्दैन है। न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ। अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ।’

प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरुले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्