संघीय निजामति सेवा विधेयकमाथि गन्थनमन्थन गर्न थालियो, कहिले लाग्छ पार ?

आइतबार, मंसिर २३, २०८१

बहुचर्चित संघीय निजामति सेवा विधेयक अब भने अघि बढ्ने भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आजबाट विधेयकमाथी छलफल थालेको छ।  

लामो समयदेखि समितिमा अड्किरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आजबाट समितिले छलफल थाल्दैछ।

विधेयकमाथी छलफल गर्न आज दिउँसो १ बजे समितिको बैठक बोलाइएको छ। 

आजको बैठकमा समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्नेछ। 

२०८० फागुन २१ गते मन्त्री अनिता देवीले मन्त्री पदबाट बिदा हुनुभन्दा केही घण्टाअघि ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधि सभामा दर्ता गराएकी थिइन्। 

२०८० फागुनमा दर्ता भएको विधेयक सदनले तीन महिनापछि २०८१ जेठ १५ मा दफावार छलफलका लागि समितिमा पठाएको थियो। 

समितिमा आएको तीन महिनापछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भदौ २० मा बल्ल पहिलो बैठक राख्यो । विधेयकमाथि सैद्धान्तिक छलफल भएपनि थप काम अघि बढ्न सकेको थिएन। 

अब भने समितिले निजामति विधेयक माथी काम अघि बढाउने भएको हो। सभामुख देवराज घिमिरेले पटक पकट समिति सभापतिहरूसँग छलफल गरेर समितिमा भएका विधेयकहरू अगाडि बढाउन ताकेत गरिरहेका छन्। 

संघीयता कार्यान्वयनका महत्वपूर्ण दुई विधेयकहरू संघीय निजामति सेवा विधेयक र विद्यालय शिक्षा विधेयकमा सभामुखको जोड छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्