कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई हाईसन्चो, सर्वोच्चले नै दियो अभयदान

आइतबार, मंसिर २३, २०८१

कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा तत्कालका लागि कानुनी जालोबाट बाहिर निस्कन सफल भएका छन् ।

सर्वोच्च अदालतले आइतबार अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटलाई दरपीठ गर्ने निर्णय सदर गरेसँगै अधिकारीमाथि मुद्दा नचल्ने पक्कापक्की भएको छ ।

अधिवक्ता त्रिपाठीले मंसिर १६ गते दर्ता गराएको रिटमा अधिकारीलाई जापान प्रकरणमा बचाउन सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको भन्दै त्यसलाई चुनौती दिएका थिए ।

तर, सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले उक्त रिट दर्ता हुन नसक्ने निर्णय सुनाएको हो ।

यसअघि, कात्तिक २५ गते पक्राउ परेका अधिकारीलाई मंसिर १० गते सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि रिहा गरिएको थियो ।

त्रिपाठीले उक्त निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरे पनि अदालतले त्यसलाई टुंग्याएको छ । यो घटनाले अधिकारीलाई तत्कालका लागि मानव तस्करी आरोपबाट मुक्त बनाएको छ ।

मानव तस्करीजस्तो गम्भीर आरोपमा मुद्दा नचल्ने निर्णयले न्याय प्रणालीप्रतिको जनविश्वासलाई कस्तो असर पुर्या‍उला भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्