भाटभटेनीका साहुले एमालेलाई दिएको जग्गा श्रेष्ठ र ढुंगाना श्रीमानले केलाउने

मंगलबार, मंसिर २५, २०८१

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी ओलीले व्यवसायीबाट घुस लिएको भनी अधिवक्ता ज्ञानबहादुर बस्नेतससहितले दर्ता गराएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको छ । लामो समयदेखि यो मुद्दाको पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएकोमा आज मंगलबार पनि रिटको पेसी तोकिएको हो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।

उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो भने पछि दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्