बलात्कारको बात् लागेका पूर्वमेयरलाई चार दिन थुन्न अदालतको अनुमति

मंगलबार, मंसिर २५, २०८१

बलात्कारको आरोपमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत झापाले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा सिवाकोटीलाई सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो ।

पढाइदिने सर्तमा घरमा राखिएकी किशोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । पीडित किशोरीको बुबा छैनन् भने आमा भारतको  आसाममा बस्छिन् । 

सिवाकोटीबाट पीडित भएकी ती किशोरी भारत जान लागेका बेला उद्धार गरेपछि घटना बाहिर आएको हो । घटनाबारे पीडित किशोरीले बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइदिएपछि अनुसन्धान सुरु गरिएको हो ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्