वैदेशिक रोजगारीमा पठाउने नाममा रकम असुल्ने जाकिए खोरमा 

बुधबार, मंसिर २६, २०८१

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौँ महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिराहा, सिरहा नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।

उनीहरूले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रुपैयाँ र ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रुपैयाँ र अर्को एक जना पीडितबाट ५ लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । उक्त पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकोमार्फत टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्