दुर्गा प्रसाईलाई पाँच वर्ष थुन्न विद्युतीय कारोबार ऐन लगाईयो

बुधबार, मंसिर २६, २०८१

मेडिकल व्यवसायी समेत रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दायर गरेको हो ।

मङ्सिर ४ मा पक्राउ परेका उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ ।

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको बताइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै उनी पक्राउ परेका हुन् ।

मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ। यसअघि पनि उनीविरुद्ध दुई पटक साइबर अपराधमै मुद्दा दायर भइसकेकाले थप सजाय गर्न समेत सरकारी वकिलको माग छ।

दफा ४७ को (२) अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार उनलाई साढे ७ वर्षसम्म कैद माग गरिएको हो।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्