जसपा विभाजनको इपिसेन्टर बन्यो भौतिक मन्त्रालय

उपेन्द्रले सुँड पसारेपछि ओली बिच्किए
सोमबार, वैशाख २४, २०८१

उपेन्द्र यादव अमेरिका उडेपछिका केही दिन भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयमा सोही पार्टीका नेता र माननीयहरुको आउजाउ बाक्लियो। एमाले सचिव रघुबीर महासेठ उपप्रधानमन्त्री सहित उक्त मन्त्रालयको नेतृत्वमा छन्। उसै पनि यो समय मन्त्रालयमा योजना माग्न जानेको ताँती लाग्ने समय नै हो। त्यसमाथि सत्तारुढ पार्टीका नेता र माननीय मन्त्रालय जानु अस्वाभाविक पनि होइन। 

धेरैले त्यहि मन्त्रालयको मन्त्रीकै कार्यकक्षमा अमेरिका सयरमा रमाएका उपेन्द्र यादवलाई दिनुसम्मको पीर दिने योजना बन्दैछ भन्ने भेउ पाएनन्। अन्दाज गर्ने कुरा पनि भएन। तर, आफै समानका उपप्रधानमन्त्रीले नै अर्का उपप्रधानमन्त्रीलाई बिर्सनै नसक्ने गरिको दनक दिने योजना बनाउलान् भन्ने उपेन्द्रले चिताउन सम्म चिताएका थिएनन्।  यदि त्यस्तो लाग्दो हो त उपेन्द्र अमेरिका नगएर यतै व्यबस्था मिलाएर बस्थे। तर, उनले त्यसको छेकछन्द समेत पाएनन्। अझ नेपालको जनसंख्या सुनाउन प्रचण्डले उनलाई अमेरिका जाने बाटो तयार पारिदिए। प्रचण्डले एकातिर उनलाई बाटो बनाईदिएर अर्कातिर बिगारी पनि दिए। भनिन्छ, प्रचण्ड र ओलीको साझेदारी परियोजना अन्तर्गत उपेन्द्रको पार्टी फुट्यो। 

भैतिक मन्त्रालयमा कसरी उपेन्द्रको पार्टी फुट्ने योजना बन्यो त भन्ने लाग्न सक्छ। हुन पनि हो त्यहाँ अर्कै पार्टीका मन्त्री छन्।  तर, ठ्याक्कै यहि हो जसपाको विभाजन र उपेन्द्रको तनाव बढाउने इपिसेन्टर नै भौतिक मन्त्रालय हो।  भौतिक मन्त्री रघुबीर महासेठ र उपेन्द्रको पार्टी नफुट्दा सम्मका उनकै पार्टीका माननीय वीरेन्द्र महतो भिनाजु-साला हुन्। एमाले सांसद जुली महतो वीरेन्द्रकी साख्खै दिदी हुन्। उनीहरु चर्चित व्यापारी उपेन्द्र महतोका भाई बहिनी र ज्वाई हुन्। 

मौजुदा गठबन्धन भत्काएर माधव नेपाल हुँदै आफै प्रधानमन्त्री खाने योजनामा भित्र-भित्रै उपेन्द्रले सुँड पसारेको भरपर्दो सूचना जब एमाले अध्यक्ष ओलीले पाए तब ओलीको निशानामा उपेन्द्र परिहाले। विरोधीलाई उठ्नै नसक्ने गरि भित्तामा पुर्याउने ओली कौशलको तब सफल परिक्षण भयो जब उपेन्द्र देशमै नभएका बेला पार्टी फुट्यो। हो, ओलीले यी सबै चीजको मेलोमेसो मिलाउने जिम्मा पार्टी सचिव समेत रहेका भौतिक मन्त्री महासेठलाई सुम्पिए। र, ओलीले दिएको मन्त्रलाई यताउता नपारी महासेठले राजनीतिक तन्त्र मिसाएर मिसाईल हाने। त्यो मिसायलमा रयासन घोलघाल पार्ने काम त्यहि भौतिक मन्त्रालयमै हुन पुग्यो। 

उपेन्द्रको पार्टी फुटाएर नयाँ पार्टी बनाउने अभियानको सरदार मोहम्मद ईस्तियाक राई र प्रदीप यादव हुन्। अशोक राईलाई ओलीले अनेक कोणबाट पगाले। उपेन्द्रले न्याक्दा न्याक्दा गरेका अशोक पनि पग्लिए। अशोक पग्लिदा २ सांसदको टुंगो यसै लाग्यो। अशोक पत्नी शुशीला पनि सो पार्टीकै सांसद हुन्। अशोक थप पगालिए योगेश भट्टराई मार्फत। योगेशको गृह जिल्ला ताप्लेजुङ्गकै छोरी हुन् शुशीला। 

इस्तियाकको चतुर्याई संग ओली अलि पहिल्यै परिचित थिए। ईस्तियाक शहरी विकास मन्त्री हुँदा उनलाई उ बेलाका प्रधानमन्त्री ओलीले नोटिस गरेका थिए। हुन त इस्तियाक पनि २०७९ को निर्वाचनमा हारेपछि उपेन्द्र संग आगो भएका थिए।  यो सबै सूचना ओली जस्तो चतुर नेता संग नहुने कुरै भएन। जब उपेन्द्रले प्रचण्ड सरकार ढाल्न पारा देखाए अनि नै हो ओलीले यी सबै भंगाला भेला पारेर उपेन्द्र यादवलाई बढारेको। 

ईस्तियाकसंग जोडिएका पर्साका सांसद प्रदीप यादव पनि ईस्तियाककै लाईनमा थिए। यी दुई भाईले सांसद रन्जु ठाकुरलाई पनि कन्भिन्स गरे। वीरेन्द्रलाई ठिक पार्न भिनाजु महासेठ नै काफी भए। थप  रणनितीका लागि ईस्तियाक,प्रदीप र वीरेन्द्रले भौतिक मन्त्रालय बाटै काम तमाम गरे।  ईस्तियाक भौतिक मै मन्त्री खाईसकेका व्यक्ति पनि हुन्।  अहिले उनी नयाँ पार्टी जनता समाजवादी पार्टीको महासचिव छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्