सोसल मिडिया
युनिकोड
तेश्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछी एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण भारतबाट गर्न हरसम्भव प्रयास गरे। तर, उनको प्रयासले तत्काल सार्थकता पाउन सकेन। फलत: उनी उत्तर तर्फ लागे।
केही दिन अगाडि गृहजिल्ला झापा पुगेर प्रधानन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका थिए।
उनले भनेका थिए, ‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन्,’ उनले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला। म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।’
प्रधानमन्त्री ओलीले आफू केही दिनमै भारत भ्रमणमा जाने अभिव्यक्ति त्यत्तिकै दिएका होइनन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई विवादित बनाएको भारतले नै प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत गर्न तयार रहेको संकेत दिएपछि प्रधानमन्त्री ओलीले छिट्टै भारत भ्रमण हुने अभिव्यक्ति दिएका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जनवरी दोस्रो हप्ता (पुस अन्तिम) तिर भारत भ्रमण गर्ने गरी तयारी सुरु भइसकेको छ। स्रोतका अनुसार भारतले सकेसम्म विदेश सचिव श्रीबिक्रम मिश्रीलाई नेपाल पठाउने तयारी गरेको छ।
कारणबस उनी आउन पाएनन् भने नेपालस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमो निम्तो दिइनेछ। कुनै घटनाक्रम भएन भने प्रधानमन्त्री ओली पुसको अन्तिम साता भारत भ्रमणमा जाने छन्।
सुरुमा भारतले भ्रमणको निम्तो दिन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेका थिए। त्यहाँ ओलीले बिआरआईमा हस्ताक्षर गरेपछि भारतले प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउने प्रयास गरेको थियो।
प्रधानमन्त्री ओलीले विभिन्न च्यानलमार्फत भारत भ्रमणको तयारी गरिरहेका थिए। त्यही प्रयास स्वरुप प्रधानमन्त्रीको भारत भ्रमणको तयारी दुवै पक्षबाट भएको हो।
यसैबीच युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले युरोपबाट सिधै दिल्ली जाने भएकी छन्। उनी डिसेमबर १९ (पुस ४) मा दिल्ली अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागी हुन र नियमति स्वास्थ्य जाँच गराउन दिल्ली जान लागेको दाबी गरिएको छ।
त्यहाँ रहँदा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने छिन्। ‘उहाँ एउटा कार्यक्रममा सहभागी हुन दिल्ली जान लाग्नु भएको हो। त्यहाँ रहँदा उहाँले आफ्नो नियमित स्वास्थ्य जाँच गराउनु हुनेछ भने भारतीय समकक्षी एस जयशंकरसँग पनि भेट गर्ने प्रयास हुनेछ,’ परराष्ट्र स्रोतले भन्यो।
परराष्ट्र मन्त्रीले दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल गर्ने बताइएको छ।