लेखा समितिका सभापति ऋषिकेशकी पत्नी सहकारी ठगी काण्डमा फरार

शुक्रबार, मंसिर २८, २०८१

एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको हो । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरुद्ध मुद्दा दायर भएको हो । अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेद जोशीका अनुसार २५  जनालाई फरार प्रतिवादी बनाइएको छ । फरारमध्ये एक अञ्जलासमेत छिन् । उनी सहकारीकी पूर्वसञ्चालक हुन् । प्रहरीले पक्राउ गर्ने प्रयाससमेत नगरी उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

यो सहकारी ठगीको अनुसन्धानमा प्रहरीमाथि सत्ताको दबाब पर्दै आएको थियो ।

उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्