सोसल मिडिया
युनिकोड
अनुसन्धान अधिकृतका लागि एक लाख घुस बोकेर अख्तियार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए ।
अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएपछि शुक्रबार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।
अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उनीमाथि परेको थियो ।
त्यसबारे आरोपीहरूको बयानसमेत सम्पन्न भएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ । सोही अनुसन्धानको कागजात पेश गर्न कञ्चनपुर पुगेका प्रशासकीय अधिकृत सापकोटाले एक लाख रकम घुस बोकेर पुगेका थिए ।
शहरी विकास मन्त्रालयमा लामो समय बिताएका सापकोटा काभ्रेका स्थायी बासिन्दा हुन् ।