आफैं उग्र बन्ने प्रधानमन्त्री ओलीले विश्वविद्यालय पुगेर सबैलाई नम्र बन्न दिए अर्ति

शनिबार, मंसिर २९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताएका छन्। 

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने धारणा राखे।

'अब जब दिने शिक्षा दिने होइन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,' प्रधानमन्त्री ओलीले भने।

उनले विद्यार्थीलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे।
 
उनले भने, 'सर्टिफकेट रोजगारीको एउटा आधार हो। दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ।' 

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने विचार पनि राखे। 'विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ,' उनले दीक्षित विद्यार्थीतर्फ इंगित गर्दै भने, 'विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिष्कृत म्यानर मिसाउनुपर्छ।'

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्