सोसल मिडिया
युनिकोड
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो।
प्रसाईँका तर्फबाट उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनम सर्वोच्चले यो आदेश जारी गरेको हो।
यसअघि साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले मंसिर २७ गते धरौटी छाड्न आदेश दिएको थियो। प्रसाईंले अदालतले मागेअनुसार ४० हजार रुपैयाँ धरौटी जम्मा गरे पनि सीआईबीले तत्कालै नियन्त्रणमा लिएको थियो।
साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल छाड्न नमिलेको सीआईबीको भनाइ थियो।
कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको आरोपसहित ‘किर्ते’ कागजात सार्वजनिक गरेपछि प्रसाईँ मंसिर ४ गते पक्राउ परेका थिए।
लगत्तै प्रसाईँ समूहका केही व्यक्ति विभिन्न व्यवसायीलाई धम्क्याउँदै रकम असुल गरेको आरोपमा पक्राउ परेका थिए। सोही प्रकरणमा प्रसाईँमाथि पनि अनुसन्धान अघि बढेको हो।
प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।