ओलीले भैसेपाटी ईन्चार्ज पनि नदिएपछि बटारिएको बामदेवको मन माधवले सोझ्याए 

बुधबार, पुस ३, २०८१

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा भित्र्याउन जोडबल गरिरहेका छ । 

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने र वरिष्ठ नेता बनाउने निर्णय गरिसकेको बताइएको छ । वामदेव पनि एकीकृत समाजवादीमा आउने कुरामा सकारात्मक देखिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वामदेवबीच भोलि (बिहीबार) भेटवार्ता हुने मिति तय भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्ने सन्दर्भमा भोलि दुई नेताबीच छलफल भएर टुङ्गिने बताइएको छ ।

नेता गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई अंगिकार गर्ने शर्तमामात्रै आफू सो पार्टीमा आउने सन्देश पठाएका छन् । एकीकृत समाजवादीमा ठूलो जमात जबजको पक्षधर छ । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालको जबजलाई स्वीकार गर्न नसकिने मत छ ।

वामदेवले एमालेमा फर्किन ठूलो जोडबल गरेपनि केपी शर्मा ओलीले भाउ नदिँदा अन्ततः उनी एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । वामदेवले आफूहरुलाई एमालेले स्थान नदिएको गुनासो गर्दै आएका थिए । आफूले एमालेमा आउन चाहेको भनी प्रस्ताव राख्दा महासचिव शंकर पोखरेलले अब कोशिस नगर्नु भनेर जवाफ दिएको उनले बताउँदै आएका थिए ।

आफूले धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘केन्द्रीय सदस्य पनि चाहिँदैन, भैसेपाटी सैबु आवास क्षेत्रको इन्चार्ज बनाइदिनुस्’ भनेर खबर पठाउँदासमेत बेवास्ता गरिएको वामदेवको गुनासो थियो । आफूलाई एमालेले नस्वीकार्ने अन्तिम निचोडमा पुगेका गौतम माधव नेपालको दौराको फेर समातेर समाजवादीमा भित्रिन राजी भएका हुन्। 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्