छायादेवी कम्प्लेक्सको जग्गा विवाद पूर्ण इजलासमा, कसरी हात पारे पाण्डेले जग्गा ?

बिहीबार, पुस ४, २०८१

काठमाडौँको ठमेलस्थित छायादेवी कम्प्लेक्सको जग्गा विवाद पूर्ण इजलासमा पुगेको छ।

गुठीको जग्गा हडप्दै ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदासमेत मासेर व्यापारिक भवन बनाएको विषयमा २ न्यायाधीशको संयुक्त इजलासले निर्णय दिन नसकेपछि पूर्ण इजलासमा पुगेको हो।

न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको हो। पोखरी समेत रहेको उक्त जग्गा गुठीको भएको दाबी गरी २०७१ सालमा सार्वजनिक सरोकारको रिट दायर भएको थियो।

बैंकर पृथ्वीबहादुर पाण्डेले कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठ, सांस्कृतिक अभियन्ता भागवत नरसिंह प्रधानलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो।

यसअघि २०८० माघमा प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले निरन्तर सुनुवाइ गरे पनि निर्णयको चरणमा अन्य आदेश गरेको थियो।

विक्रम संवत् १९६५ सालको पोता रसिदअनुसार पोखरी र पोखरीको डिलको क्षेत्रफल २६ रोपनी आना थियो । सो पोखरी परापूर्वकालदेखि विहारको पूजा, जात्रापर्व, संस्कार आदिको लागि प्रयोग गरिँदै आएको थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको कमलपोखरी प्रधानमन्त्री चन्द्रशमशेर राणाका छोरा केशर शमशेरले आफ्नो दरबारको शोभा बढाउन भनी वि.सं. १९७७ पुस महिनामा दरबारको कम्पाउन्डभित्र पारेको थियो ।

वि.सं. १९७८ मा पोखरीको डिलको सट्टा भर्ना दिने र पोखरी प्रयोग गरेबापत अघिदेखिको ठेक परम्पराबमोजिम वार्षिक १२५ रुपियाँ दिने कबुल गरी राणाजीले पत्र पठाएका थिए । त्यसै पोखरी प्रयोग गरेको ठेकबापत १२५ रुपियाँ दिए पनि कबुलबमोजिम जग्गाको सट्टाभर्ना दिएको थिएन । २०३३ सालमा नापी हुँदा गुठीको जग्गा साविक लगत नम्बर १८३ नम्बरको २६ रोपनी ८ आनामध्येको पछि नापी हुँदा कि.नं १६७ को कायम भएको थियो। सोकोे क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको छ । अर्को कायम भएको कित्ता १०४० को क्षेत्रफलको ९ आना २ पैसा ३ दाम कायम भएको थियो । यो तथ्य, गुठी, नापी र मालपोत कार्यालयले सर्वोच्च अदालतमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

२०३३ पुस ३ गते सर्वाेच्च अदालतमा भएको मिलापत्रमा सो पोखरी मासिए भने धर्मलोप हुने स्वीकार्दै पोखरी र पोखरीको डिल नै कायम गरी साविक बमोजिम गुठीको नाममा नै दर्ता कायम गर्न गुठी संस्थानको रोहवरमा सहमति गरिएको थियो । तर, गुठीका केही व्यक्ति र गुठी संस्थानका केही पदाधिकारीहरूलाई प्रभावमा पारी मिति २०४२ जेठ १७ मा पोखरी शब्द षड्यन्त्रपूर्ण तरिकाले हटाई सिम किसिमको जग्गा देखाई पोता तिरेको थियो । सोही आधारमा पछि गुठी संस्थान ऐन २०३३ अनुसार रैकरमा परिणत गरी निजी रूपमा स्वामित्व कायम गराई किनबेच कारोबार गरेको देखिन्छ ।

सर्वोच्चले छायादेवी कम्प्लेक्स बनेको साविक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो ? भनी जवाफ मागेको थियो । त्यसमा गुठी संस्थानले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भई छायादेवी कम्प्लेक्स बनेको कि.नं १६७ को जग्गा गुठी संस्थानअन्तर्गतको भएको जवाफ पठाएको थियो ।

अदालतलाई मालपोतले छायादेवी कम्प्लेक्सले बनाएको भवन कमलपोखरी रहेको सरकारी जग्गा नै रहेको उल्लेख भएपछि राजनीतिक आडमा सरकारी जग्गाको दोहन गरिरहेका यसका सञ्चालकहरू तनावमा रहेको बुझिएको छ। यता, मालपोत कार्यालय काठमाडौंले काठमाडौंको ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भएको कि.नं १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको सर्वोच्च अदालतलाई जवाफ पठाएको छ।

सो जवाफलाई सर्वोच्चले छायादेवी कम्प्लेक्सको सम्बन्धमा अब के गर्ने फैसलाको निर्णय आधारको रूपमा कानुन व्यवसायीहरूले लिएका छन् । यसलाई आधार बनाउने हो भने छायादेवी कम्प्लेक्सको भविष्य संकटमा परेको छ। र, पूर्ण इजलासमा पुगे संगै छायादेवी कम्प्लेक्सका साहु पाण्डे रन्थनिएको श्रोतको भनाई छ। पाण्डेले सार्वजनिक कमलपोखरीको जमिन २०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट खरिद गरेका थिए। 

कसरी हात पारे पाण्डेले जग्गा ?

प्राइम लोकेसनका घरजग्गा धितोमा ऋण दिने सम्झौता गर्ने तर सम्झौतानुसारको कर्जा नदिएर ऋणी अप्ठेरोमा परेपछि घरजग्गा लीलामका नाममा आफू र आफन्तका नाममा कब्जा गर्ने गलत परम्पराका सूत्राधार मानिने पाण्डेले छाया सेन्टर बनाएको कमलपोखरीको जमिन खुला ठाउँ भेटेकाले आफूले कम्प्लेक्स बनाएको बताउँदै आएका छन् । 

यससँगै खोलिएको एलफ्ट होटल रहेको जमिन पाटनका कपडा व्यापारी पञ्चलाल महर्जनले अब्दुल कवादीलाई गोरखा विकास बैंकमा थर्डपार्टी धितो दिएको जमिन जग्गाधनी महर्जनलाई थाहा पत्तै नदिई कब्जा गरेर आफ्नो नाममा ल्याएका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्