बालेनको अड्डामा सरोज भए विकार, भेटवालको फन्दामा पर्दा यसरी भए सिकार

शुक्रबार, पुस ५, २०८१

काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न छोडेका छन्। बालेन्द्र साह मेयर भए यता महानगरले तीन प्रमुख प्रशासकीय अधिकृत फेरेर ल्याईएका चौथो प्रमुख प्रशासकीय अधिकृतलाई पनि बालेनले महानगर निकाला गरिदिएका छन्। 

मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारवाहीको प्रारम्भिक डण्डा बर्साएका छन्।  गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई काठमाडौं महानगरमा सरुवा गर्ने निर्णय गरेको थियो। गुरागाईं अघि प्रदीप परियार प्रमुख प्रशासकीय अधिकृत थिए।  स्वास्थ्य केन्द्रको भुक्तानीका सम्बन्धमा लफडा पर्ने भएपछी परियार बेलैमा महानगर छोडेर लफडामा पर्न बाट जोगिएका थिए। 

पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरमा बदनियत राखेर नक्सापास गरेको खुलासा भएपछि गुरागाईलाई मेयर बालेनले एक्सन लिएका हुन्। उनलाई निलम्बन गर्ने मेयर बालेनको तयारी रहेको महानगर स्रोतले बतायो। गुरागाईंले महानगर छोडेर मात्र धर नपाउने श्रोतको भनाई छ। 

काठमाडौं भ्यूटावरको १२ तलकाे नक्सा पास गर्नुपर्नेमा १९ तलका नक्सा पास गरेको पाइएपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि निलम्बनको प्रक्रिया अघि बढाइएको हो। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही प्रक्रिया अघि बढाएको पुष्टि गरे। उनले कागजातमा समेत कैफियत गरेको दाबी गरिएको छ।

अहिले मधेश प्रदेशमा सचिव रहेका लोकनाथ पौडेल बालेन मेयर निर्वाचित हुँदा प्रमुख प्रशासकीय अधिकृत थिए।  उनको सरुवा भएपछी एउटा स्वार्थ समूह उनै गुरागाईंलाई महानगर लैजान चाहन्थ्यो। तर, सफल हुन सकेको थिएन।  पौडेलपछि महानगरमा बसन्त अधिकारीले प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे। अधिकारीले पनि स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारको कर्मचारी भर्ना गर्दा बदमासी गरेको पाइएपछि मेयर बालेनले एक्सन लिएका थिए। बसन्त धपाईएपछि पुगेका प्रदीप परियार पनि लामो समय टिक्न सकेनन्। प्रदीपलाई रोकेर गुरागाईंलाई महानगर लैजान एउटा समूह लागि नै रह्यो। बसन्तलाई बिचैमा धपाएर श्रम मन्त्रालयका सहसचिव डण्डूराज घिमिरेलाई महानगरमा लैजान चलखेल भएकै थियो। तर, कुनै शिप चलेको थिएन। जसै, प्रदीप परियारको सरुवा भयो तब गुरागाईं लैजाने खेल सफल भएको थियो। 

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिका साहु मनोज भेटुवाल आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत महानगरमा लगेर आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा थिए। उनकै समुहका सहयोगीको अथक मेहनतपछि गुरागाईं त्यहाँ पुगेपनि विवादको भूमरीमा जाकिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुख छोडेर महानगर छिरेका गुरागाईं बालेन शासनको सिकार बन्ने निश्चित भएको छ। 

प्रेस विज्ञप्ति

काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि.नः १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौं महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१/११/२० मा का.म.पा को कार्यपालिका वैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच दुई पक्षीय सम्झौता भएको यहाँहरुलाई अवगत नै छ ।

सोही कार्यको लागि मिति २०७२/४/२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२/५/६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको देखिएको थियो । साथै मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच मिति २०७३ बैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला दबकझभलत र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राबिधिक जांच पश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी डवल दबकझभलत प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला दबकझभलत र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिबेदनमा पेस भएको छ ।

श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को (मापदण्ड वमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ । सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो ।

सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच भएको सम्झौता बिपरित भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । कामपाको आधिकारिक नक्सा पास प्रणाली भ्द्यएक् बमोजिम मिति २०८०/११/२२ देखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ । साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई , शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ ।

२०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्