लाज खोज्न राप्रपाले बुद्धिमानलाई जिम्मा दियो, तीन भाईले कमजोरी खोज्ने

शनिबार, पुस ६, २०८१

स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेपछि राप्रपा स्तब्ध भएको छ। उसले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ ।  

राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

बैठकमा मङ्सिर १६ मा सम्पन्न उपनिर्वाचनको गम्भीरतापूर्वक समीक्षा समेत भएको श्रेष्ठले बताए ।  उपनिर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसकेको अवस्थामा प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको उनले बताए । 

यस्तै राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षका बारे बौद्धिक वर्ग, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू र आम जनसमुदायसँग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न विज्ञहरूको समूह बनाउने निर्णय गरिएको राप्रपाले बताएको छ । यो भए संगै राप्रपा पछिल्ला दिनमा चल्मलाउन थालेको हो। 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्