तीन वटा कसुरको पोको सहित लामिछानेलाई अदालतमा उभ्याईयो

आइतबार, पुस ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अहिले जिल्ला अदालत (कास्की) पुर्‍याइएको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो। 

आज जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गराउन लागेको हो। 

सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ। रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्। 

सम्पत्ति शुद्धीकरण आरोपमा बढीमा ९० दिन मात्रै हिरासत राख्न पाइने कानुनी व्यवस्थाअनुरूप उनीविरुद्ध शुक्रबार नै अभियोगपत्र दर्ता हुने अनुमान गरिएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आज मात्रै मुद्दा दर्ता गर्न लागेको हो।

आज दर्ता गर्दा पनि कानुनले व्यवस्था गरेको म्यादभित्रै हुने कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको दाबी छ। ‘शुक्रबार मध्यराति १२ बजेसम्म म्याद हो, भोलिपल्ट शनिबार (बिदा) परेकाले आज (आइतबार) मुद्दा दर्ता गर्न लागेका हौँ’, उनले भनिन्।

रविविरुद्ध पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद शुक्रबार मध्यराति सकिएको छ। शुक्रबार भने सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकामा शुक्रबार संगठित अपराधको कसुर पनि थप गरेर उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो। 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्