सोसल मिडिया
युनिकोड
आफ्नो सरकारका मन्त्री लोसे भएपछी प्रधानमन्त्री केपी शर्मा ओली वाक्कदिक्क भएका छन्। हुन त प्रधानमन्त्री ओलीकै काम गराई पनि उत्साहजनक भने छैन।
प्रधानमन्त्री ओलीले केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा कड्किदै भने– ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ, अब मलाई देखिनेगरी परिणाम चाहिन्छ ।’ तीन दिनअघि ओलीले भनेका थिए–‘म काम गर्न आएको हुँ ।’ मन्त्रिपरिषदको बैठकमा मन्त्रीलाई परिणाम देखिने गरी काम चाहिन्छ भनेपछि एमाले मन्त्रीहरूले लाजले टाउको निहु¥याएका थिए । काम नगर्ने मन्त्रीहरूमा सबैभन्दा बढी एमालेकै त्यो पनि ओलीको गोजीबाट मन्त्री बनाइएकाहरू छन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्री र मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएपछि एमालेका केही नेताहरुसँग मन्त्रिपरिषमा रहेका सदस्यको कामकारबाहीबारे असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्रीको यो असन्तुष्टि पहिलो भने होइन । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि नै मन्त्रिमण्डल हेरफेरको तयारीमा थिए । तर, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि रोकिएको थियो । अहिले फेरि मन्त्रिमण्डल हेरफेरको ‘मुड’मा रहेका प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयको रिपोर्टकार्ड बुझाउन आदेश दिएका छन् ।
प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाका कारण विष्णु पौडेल आफै पनि चिढिएका छन् । पौडेलले प्रधानमन्त्री ओलीलाई खुसी पार्न नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रकृया अघि बढाइसकेका छन् । नयाँ स्टकको लाइसेन्समा ओलीको विशेष चासो छ । माओवादीसँग एमालेको गठबन्धन टुट्नुको एउटा कारण यो पनि हो । ओलीले नयाँ स्टकको लाइसेन्सका लागि धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका थिए । उनको दबाब थेग्न नसकेर प्रचण्डले तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई ‘चाँडो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थाल्न’ निर्देशन दिएका थिए ।
नयाँ स्टकमा पाँच अर्ब कमिसनको खेल भएको कुरा स्वयं ओलीले बताएका थिए । नयाँ स्टकका लागि दिपक भट्ट, रामेश्वर थापा र दिपक तिमिल्सिना व्यवसायीहरू बोकेर हिँडेका छन् । त्यसमाथि रामेश्वर थापाले ओलीलाई प्रधानमन्त्री बनाउन अहं भूमिका खेलेका थिए ।
स्रोतका अनुसार आफ्नो कमजोरी ढाक्न प्रधानमन्त्री ओली मन्त्री फेर्ने हतारोमा छन् । उनको लिस्टमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का रक्षामन्त्री मानवीर राई लगायतकाका आधा दर्जन बढी मन्त्री रहेका छन् ।
त्यसो त भूमि व्यवस्थामन्त्री अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलबीच पनि त्यति सौहार्दपूर्ण सम्बन्ध पाइँदैन । आगामी वैशाखमा घर जान लागेका सचिव पोखरेल मन्त्री अधिकारीले अह्राएको काम छल्न बिरामीको बहाना बनाएर मन्त्रालय जाँदैनन । पछिल्लो समय सचिव पोखरेल मन्त्रालयमा बिरलै भेटिन्छन् ।
मन्त्रीको ‘स्पिरिट’ अनुसार सचिवले काम गर्न छाडेको मन्त्रीनिकट अधिकारीहरूको दाबी छ । मन्त्री अधिकारीले आफ्ना कार्यकर्तालाई वेवास्था गरेको विषयमा पनि अहिले प्रधानमन्त्री ओलीसमक्ष पुगिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीको सम्बन्ध पनि सुमधुर रहेको भएपनि स्थानीय तहका कार्यकारी सरुवाको विषयमा केही दिन असमझदारी उत्पन्न भएको थियो ।
यता, अर्थ मन्त्री पौडेलले त दुई भाई सचिव बोकेरै प्रधानमन्त्री भेट्न पुगेका थिए। पौडेल कर्मचारी त्यस माथि सचिवकै कारण काम गर्न नसकेको निचोडमा पुगेका छन्। प्रधानमन्त्री ओली र मुख्यसचिव एकनारायण अर्याल सहित युवराज खतिवडाका कारण पौडेल वाक्क बनेको अर्थमन्त्रालयकै केही कर्मचारी बताउँछन्।
कांग्रेसका तर्फबाट उपप्रधान समेत सहरी विकास मन्त्री बनेका प्रकाशमान सिङ्ग पनि सुस्त मन्त्रीकै सूचीमा छन्। धेरै बोल्दैमा मात्र उनको दिन व्यतित भइरहेको छ। कर्मचारीले खास सहयोग नगरेका कारण ओली सरकार झन्-झन् भुत्ते बन्दै गएको छ। दुई तिहाई मत नजिकको शक्तिशाली सरकार भुत्ते बाम्फोक जस्तै बनेको चर्चा हुन थालेको छ।