केडिया ग्रुपको भलिवल मोह, पुरुष फ्रेन्चाइज एनभीएलको लोगो सार्वजनिक

मंगलबार, पुस ९, २०८१

नेपालको एक प्रतिष्ठित औद्यागिक घराना केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल)को लोगो सार्वजनिक गरेको छ। 

फ्रेन्चाइज लिगको लोगो र स्लोगन एक कार्यक्रमको आयोजना गरि एक साथ् सार्वजनिक गरिएको हो। 

खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगोको अनावरण र स्लोगनको सार्वजनिकीकरण गरेका थिए । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुँदा पनि पूर्वाधार नहुँदा खेलकुदको सोचेजस्तो विकास हुन नसकेको बताए । 

नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेश समेत नमान्ने प्रवृत्ति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन नियम मान्नुपर्ने बताए । उनले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए । 

९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । 

केडिया ग्रुपका कार्यकारी निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाईमा पुर्याउने र खेलकुद मार्फत राष्ट्रको परिचयलाई थप फराकिलो बनाउन केडिया ग्रुप दत्तचित्तले लागेको बताए। 

एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ । हरेक टोलीमा १२ खेलाडी हुने त्यसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने खेतानले जानकारी दिए ।

कार्यक्रममा काभा यु २० भलिबल प्रतियोगिताको रजत पदक विजेता टोलीलाई नगद र प्रसंशा पत्रसहित सम्मान गरिएको थियो। 

केडिया ग्रुपका अध्यक्ष विमल केडियाले व्यापार मात्र नभएर समाजका हरेक क्षेत्रका गतिविधिमा सहभागिता जनाउँदै आएका छन्। उनी संबिधान सभा सदस्य समेत हुन्।  

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्