वाग्मतीका मुख्यमन्त्री बहादुरलाई आफ्नै मन्त्री-सचिवले टेरेनन्, जारी गरे यस्तो फरमान

मंगलबार, पुस ९, २०८१

आफ्नै सरकारका मन्त्री र सचिवहरूको काठमाडौँ आउजाउ बाक्लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले फरमान जारी गर्नु परेको छ। प्रदेश सरकारका मन्त्री र सचिवहरूलाई हेटौँडामा केन्द्रित भएर काम गर्न मुख्यमन्त्री लामाले निर्देशननै दिनुपरेको छ। 

मुख्यमन्त्री लामाले मंगलबार मन्त्रीहरूलाई हप्ताको चार दिन र सचिवहरूलाई पाँच दिन अनिवार्य हेटौँडामै बसेर काम गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री लामाले अत्यावश्यक काम बाहेक हेटौँडा नछाड्न र मन्त्रालयमै बसेर काम गर्न कडा निर्देशन दिएका हुन् ।

जम्मा १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको समीक्षा बैठकमा चार जना मन्त्री अनुपस्थित रहेपछि लामा रन्किएको एक सचिवले बताए।  संघीयताको मर्म बमोजिम मुकाममा रहेर नियमित काम गर्दा मात्र सरकार सफल हुने भन्दै लामाले मन्त्री र सचिवहरूले संघियताको मर्मलाई पालना गर्नुपर्ने बताए ।

बागमतीका मन्त्रीहरू नियमित कामको साटो विभिन्न जिल्लामा हुने उद्घाटन र पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त हुन थालेपछि मुख्यमन्त्री लामाले कडा निर्देशन दिएका हुन् । हुन पनि अहिले सम्म वागमती सरकारले भन्न र देखाउन लायक काम गर्ने नसकेको आरोप लाग्दै आएको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्