शेयर बजार उच्च विन्दुमा पुग्दा एमाले मुख्यालयमा खुसियाली, दुई दिनमा के-के हुन्छ ?

बुधबार, पुस १०, २०८१

नेकपा एमालेको आज बुधबार बसेको सचिवालय बैठकमा सेयरबजारमा आएको बढोत्तरीको धुमधाम चर्चा भयो। नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको एमाले अध्यक्ष केपी ओलीले खुलेरै बताए। 

सेयर बजारको चर्चा गरेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली निर्णय जानकारी गराउँदै भने, ‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी पुस २१ र २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यो बैठकका लागि हामीले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोहरुले गरेका निर्णयहरुको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तय गरेका छौं । सोही एजेण्डामा रहेर यो बैठक सम्पन्न हुनेछ ।’

साथै, सचिवालय बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको पाँच महिने सहयात्राको बारेमा समीक्षा भएको पनि उपमहासचिव ज्ञवालीले बताए । पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको उनले बताए । नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुङ्ग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउनेबारे पनि बैठकमा छलफल भएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्