सूर्यदर्शन सहकारीमा ठगीको जालो, आज रविको आउला त बयानको पालो ?

बिहीबार, पुस ११, २०८१

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा आज पनि बयान लिइँदैछ । जिल्ला अदालत कास्कीमा सोमबारदेखि यो मुद्दामा प्रतिवादीसँग वयान सुरु भएको हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको वयान सुरु हुने सम्भावना रहेको छ ।

अदालत खुलेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा लिला पछाईंको वयानले निरन्तरता पाउनेछ । उनको मंगलबार वयान सुरु भएको थियो ।

बुधबार अदालत बन्द भएकाले बिहीबार उनकै वयानले निरन्तरता पाउनेछ । उनको सकिएपछि पूर्वगृहमन्त्री लामिछानेको बयान सुरु हुनेछ । पक्राउ परेको मितिका आधारमा बयान लिइ राखिएकाले रविसँग लिइने संभवाना छ।

रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लगाइएको छ । शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ ।

सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

सोमबार र मंगलबार गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआईजी छविलाल जोशीको बयान भयो । मंगलबार जोशीको सकाएर लिलासँग सुरु भएको हो ।

रविको सकाएपछि रामबहादुर खनाल, कृष्णबहादुर गुरुङको बयान हुनेछ । गुरुङ बिरामी भएकाले अहिले फिस्टेल हस्पिटल गैरापाटनमा उपचाररत छन् ।

मंगलबार सूर्यदर्शनको मुद्दामा प्रतिवादी बनाइएका पूर्वउपाध्यक्ष मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ मंगलबार पक्राउ परेका छन् ।

मिना गण्डकीको पूर्व सांसदसमेत हुन् । प्रतिवादीको वयान सकाएपछि थुनछेक बहस हुनेछ । आइतबार कुल ४४ जनालाई प्रतिवादी बनाएर पूरक मुद्दा दायर भएको हो ।

त्यसमा आठ वटा कम्पनी र ५ जना सम्पत्ति जफत प्रयोजनार्थ रहेका छन् । त्यसको दुई दिन पहिले शुक्रबार सूर्यदर्शन सहकारी ठगीका मुख्य नाइके गितेबन्द्रबाबु राई (जिबी) सहित १९ जनालाई थप अभियोग दायर भएको छ ।

सूर्यदर्शन सहकारीको मुद्वामा ६३ जना प्रतिवादी बनाइएको छ । उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टि भएकाले बिगो माग गरिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्